२०७७ मंसिर १८, बिहिबार | Thu, 03, Dec, 2020

आङरिता: याक गोठबाट उदाएका ‘हिउँचितुवा’

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित २ महिना अघि
  • मे १६, २०१९ को मध्यान्ह । कामीरिता शेर्पा २३ औं पटक सगरमाथा आरोहण गरेर भर्खरै आधारशिविर आईपुगेका थिए । सेभेन समिटको आधारशिविरमा रहेको क्याम्पमा उल्लासपूर्ण वातावरण थियो । एक किसिमको पार्टी (भोज) भईरहेको थियो । कामिरिताको गला खादाले भरिएको थियो । संयोगले म त्यहीँ पुगेँ । छोटो कुराकानी पछि त्यहाँबाट निस्किएँ ।

    नजिकैको अर्को क्याम्पमा सगरमाथा मापनका लागि जिपिएस लिएर जाने नापी विभागका टोली थिए । त्यही टोलीस“ग लामो गफ गरियो । ‘अब कहिले आरोहणका लागि जाने ’? भन्ने मेरो सवालकै क्रममा आरोहण गाईडको जिम्मा पाएका छिरिङजाङ्बु शेर्पाले मोबाइलमा एउटा तस्बीर देखाउँदै भने, ‘यी हेर्नुस न भर्खरै एभरेष्टमा आङरिता क्याप देखिएको छ । अब दुईतीन दिन पछि मात्रै हामी उकालो लाग्छौँ ।’

    तस्बीरमा सगरमाथाको शीरलाई चाँदीझैं सेतो बादलको गोलो घेराले घेरेको थियो । मैले यसबारे जिज्ञासा राख्दा यस्तो देखिएमा केही दिन सगरमाथामा मौसम प्रतिकुल हुने रहेछ भन्ने थाहा भयो । आङरिता शेर्पा सगरमाथाको शिखरलाई बादलले घेर्ने बित्तिकै बिचबाटो बाटै फर्किन्थे । ‘अब मौसम बिग्रिन्छ’ भनेर सबैलाई सुनाउँथे । सँच्चिकै त्यसै हुने गथ्र्यो । त्यसैले उनको अनुभव र अनुमान सँधै सही भएकोले त्यतिखेर देखि यसको नामाकरण अन्य आरोहीले ‘आङरिता क्याप’ राखिदिए ।

    विदेशी आरोहीहरुले उनको क्षमता (स्टामिना) देखेर ‘स्नो लिओपार्ड’ भनेर उपनाम राखिदिए । यही नाम नेपालीमा हिउँचितुवा बनेर उपाधि बन्यो । तर उनले आफूलाई कहिल्यै हिउँचितुवा भनेर घमण्ड गरेनन् ।

    चारवर्ष अघि आङरिता शेर्पा निकै बिरामी भएको खबर सुनियो । पछि केही सन्चो भए । भेट्नका लागि उनको आफन्तको सम्पर्क नम्बर पत्ता लगाएँ । तर त्यसअघि आङरितासँग भेट गरेर फर्किएका एक पत्रकार मित्रले उनले पहिले जस्तो स्मरणशक्तिका साथ कुराकानी गर्न नसक्ने बताए ।

    जुनसुकै अवस्थामा भएपनि भेट गर्ने इच्छा थियो । मोफसलमा बसेकै कारण समय मिलाएर आङरितालाई भेट गर्ने मिति लम्बिँदा लम्बिँदै इच्छा अपूरो रह्यो ।

    अन्ततः आङरिताले सोमबार राजधानीस्थित छोरीको घरमा अन्तिम सास फेरे । बुधबार उनलाई बौद्ध धर्मको परम्परा अनुसार अन्तिम संस्कार गरियो । लामो समयदेखि पक्षघातबाट पीडित शेर्पाको ७२ वर्षको उमेरमा निधन भयो । सोमबार संसारभरिका संचारमाध्यममा उनको निधनको समाचारले प्राथमिकता पायो ।

    याक गोठालोदेखि सर्वोच्च शिखरसम्म

    आङरिताको बाल्यकाल याक धपाउँदैमा बित्यो । आङरिता याकलाई नुन तेल बोकाएर तिब्बतदेखि खुम्बु आउजाउ गर्थे । गाउँघरको खेतीमा बुवाआमालाई सहयोग गर्थे । १५ वर्षको उमेरदेखि मात्रै हिमालमा भारी बोक्ने काम थाले । पहिलो पटक धौलागिरि आरोहण टोलीमा भरियाको काम पाए । तेश्रो शिविर सम्म जुत्ता बिना भारी पुर्‍याएर फर्किनुपथ्र्यो ।

    उनको क्षमता देखेर आरोहण टोली प्रभावित भए । उनलाई जुत्ता र अन्य सामाग्रीको जोहो गरिदिए । त्यो जुत्ताको साइज उनलाई ठिक भएन । तर पनि बाध्यताले लगाए । पहिलो पटक धौलागिरिको तेश्रो शिविर पुग्दा सोचेका थिए, ‘अब देखि आरोहण नै मेरो भविष्यको अन्तिम पेशा हुनेछ ।’
    त्यसपछिका दिनमा पनि धेरै वर्ष अग्लो हिमाल आरोहण गर्ने अवसर पाएनन् । आरोहण टोलीका सरदारले दोश्रो शिविर भन्दा माथी जाने अनुमति दिँदैनथे । आइल्यान्ड पिक, लोबुचे पिक जस्ता स-सान पिकहरुमै चित्त बुझाउनुपथ्र्यो । अवसर नपाएपछि वितृष्णा हुन थालेको थियो । त्यतिबेलै एक स्वीस टोलीको लागि ‘हाइ अल्टिच्यूड शेर्पा’ को रुपमा धौलागिरि आरोहण गर्ने अवसर मिल्यो । उनले सहजै दुई समूहसँग पालैपालो गरेर धौलागिरि आरोहण गरे ।

    आङरिता शेर्पा सगरमाथाको शिखरलाई बादलले घेर्ने बित्तिकै बिचबाटो बाटै फर्किन्थे । ‘अब मौसम बिग्रिन्छ’ भनेर सबैलाई सुनाउँथे । सँच्चिकै त्यसै हुने गथ्र्यो । त्यसैले उनको अनुभव र अनुमान सँधै सही भएकोले त्यतिखेर देखि यसको नामाकरण अन्य आरोहीले ‘आङरिता क्याप’ राखिदिए ।

    शुरुवातमा सगरमाथामा धेरैपटक माथी सम्म जाने अनुमति पाएनन् । सगरमाथा आरोहणका लागि आएका टिम लिडर गेर्राड लेन्सरको जर्मन/अमेरिकन आरोहण टोलीसँग सन् १९८३ मे ७ तारिखमा शिखरमा पुग्ने अवसर पाए । पहिलो आरोहण बोतलको अक्सिजन बिना गरे । त्यसपछि दशौं तथा अन्तिम आरोहण १९९६ को मे २३ तारिखका दिन गरे । ती दशैवटा सगरमाथाको आरोहणमा आङरिताले बोतलको अक्सिजन प्रयोग गरेनन् ।

    आठ हजार माथी एरोबिक

    आङरिताको भयानक र पत्याउनै नसकिने आरोहण चौथो पटकको थियो । दक्षिण कोरियाली समूहसँग शरदऋतु (जोडो महिना) को बेला आरोहणका लागि गएका थिए । चौथो शिविरबाट माथी पुगिसकेपछि मौसम एक्कासी बिग्रियो । एक कोरियाली आरोही र उनले बाटो भुले । रातभरि उनीहरु बिचल्लीमा परे ।

    करिब ८ हजार ६ सय मिटरको उचाईमा उनीहरुले एरोबिक एक्सरसाइज गरेको एभरेष्ट हिस्टोरी डटकमलाई बताएका छन् । उनले भनेका छन्, ‘चिसोबाट बचेर ज्यानलाई तन्दुरुस्त राख्ने हाम्रो एकमात्र उपाय त्यही थियो ।’ अन्ततः आङरिताले बिना अक्सिजन १९८७ को डिसेम्बर २२ का दिन सगरमाथा शिखरमा पाइला टेके । उनले अर्को वर्ष १९८८ को अक्टोबर १४ तारिखका दिन पनि स्पेनिस टोलीसँग सफलता पूर्वक आरोहण गरे ।

    चर्चाको पछि लागेनन्

    आङरिताको अन्तिम आरोहण पनि कम्ति कहालीलाग्दो थिएन । सन् १९९६ को वसन्तकालीन आरोहणमा ११ जना आरोहीले हिमआँधीमा परेर ज्यान गुमाएका थिए । तर त्यही वर्षको मे २३ का दिन उनले शिखर चुमेर फर्किए ।

    संसारभरका नाम चलेका मिडियाका पत्रकार उनीसँग कुरा गर्न आतुर थिए । तर आङरिता थामे र काठमाडौंमा सामान्य तरिकाले आफ्नो काममा व्यस्त रहे । सेप्टेम्बर १, १९९६ मा हिमाल साउथ एसियाले प्रकाशन गरेको आङरिताको प्रोफाइल फिचरमा यो कुरा उल्लेख छ । यसबाट पनि थाहा हुन्छ कि आङरिता चर्चाको पछाडी कहिल्यै लागेनन् ।

    बिना अक्सिजन १० पटक आरोहण गरेर विश्वकिर्तिमानी राख्ने उनको इच्छा होइन । काम गर्दै जाने सिलसिलामा आफै विश्वकिर्तिमानी बनेको उनको भनाई थियो । हालसम्म उनको किर्तिमानी कसैले तोड्न सकेका छैनन् । विदेशी आरोहीहरुले उनको क्षमता (स्टामिना) देखेर ‘स्नो लिओपार्ड’ भनेर उपनाम राखिदिए । यही नाम नेपालीमा हिउँचितुवा बनेर उपाधि बन्यो । तर उनले आफूलाई कहिल्यै हिउँचितुवा भनेर घमण्ड गरेनन् ।

    राष्ट्रप्रेमी आरोही

    सन् १९९३ को सगरमाथा आरोहणको बेला टोली फरक भएपनि लाक्पानुर्बु शेर्पाले आङरितासँगै आरोहण गर्ने मौका पाएका थिए । त्यतिबेला नेपाल र भारत दुवै तर्फका महिला आरोहण टोली समावेश थियो । पासाङल्हामु शेर्पाले त्यतिखेरै आरोहण गरेकी थिइन् । आरोहण लगत्तै भारतीय आरोहण टोलीले आङरितालाई भारत आउन अनुरोध गरे ।

    चाहेको भए जुनसुकै देशमा गएर बस्न सक्ने थिए ।’ त्यतिखेर उनलाई भारत आउन अनुरोध गर्ने टोली टाटा कम्पनीका माथिल्लो तहका व्यक्ति थिए । विश्वकिर्तिमानी राख्ने धेरै आरोहीहरु विदेशिन्छन् ।

    ‘तिम्रो लागि भारतमा विशिष्ट सुविधाका साथ सबै दिन तयार छौँ । तिमी आउ । भनेर मेरै सामुन्नेमा प्रस्ताव राखेका थिए ।’ आङरिताको पार्थिव शरिरलाई बिदाई गरेर फर्किएपछि ७० वर्षिय पुराना माउन्टेन गाइड लाक्पानुर्बु शेर्पाले टेलिफोनमा भने, ‘तर उनी कहिल्यै लोभिएनन् । चाहेको भए जुनसुकै देशमा गएर बस्न सक्ने थिए ।’

    त्यतिखेर उनलाई भारत आउन अनुरोध गर्ने टोली टाटा कम्पनीका माथिल्लो तहका व्यक्ति थिए । विश्वकिर्तिमानी राख्ने धेरै आरोहीहरु विदेशिन्छन् ।

    तेन्जिङनोर्गेले नै भारतीय नागरिकता लिएर पछि आफूलाई भारतीय भएको बताएका थिए । अन्य आरोहीहरु धेरै छन् । जो अमेरिकादेखि अन्य युरोपियन मुलुकका नागरिक बनेर बसेका छन् । कतिपयले आङरितालाई राज्यले केही गरेन भनेर गुनासो गरे । आङरिता आफैले राज्यप्रति धेरै गुनासो गरेनन् । त्यही उनको महानता बन्यो ।

    हिउँचितुवाको अनन्तयात्रा

    नेपालको मात्र नभएर संसारकै हिमाल आरोहण इतिहासमा आङरिता शेर्पाको क्षमता र साहस मिथक बनेको छ । हिउँचितुवाको उपाधि पाएका आङरिता बिना बोतलको अक्सिजन विश्वको सर्वोच्च शिखरमा १० पटक पुगे । बरु वास्तविक हिउँ चितुवा त्यो उचाईमा पुगेको छ कि छैन होला भन्ने प्रश्न उठ्न सक्छ ।

    सायदै उनी जत्तिको क्षमतावान आरोही फेरी यस संसारमा जन्मिनेछन् । हिमाल आरोहण रुचाउने साहसिक आरोहीहरुको अन्तिम इच्छा एउटै हुने गर्छ, ‘मरे बरु हिमालमै मर्छु कम्तिमा मरेपछि आत्मा हिमालयमै डुलिरहोस् ।’ त्यसैगरि आङरिताको दिवंगत आत्मा पनि सम्भवतः नेपालका हिमालयहरुमै रमाइरहनेछ । हार्दिक श्रद्धासुमन !

    (लेखक कान्तिपुरका संवाददाता हुन् । उनले केही वर्षदेखि सगरमाथा आरोहणको विषयमा रिपोर्टिङ गर्दै आएका छन् ।)

    प्रतिक्रिया दिनुहोस