२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

‘मिडिया अलाइन्स’मा भाष्कर, विज्ञापन बजार २५ अर्ब पुर्‍याउने लक्ष्य

  • २०७७ आश्विन ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडाैं- सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन भएको छ । सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउदै लगानीकर्ताको हकहितका लागि मिडिया अलाइन्स नेपाल नामक संस्था स्थापना भएको हो ।

    सञ्चारसम्बन्धी नीति, ऐन, कानून निर्माणमा सञ्चार उद्यमीको हकहितको संरक्षणका साथै जनउत्तरदायी कानून निमार्णामा सहयोग गर्ने, सञ्चार क्षेत्रलाई मर्यादित व्यवस्थित र उत्तरदायि हुने कानून निर्माणमा पहल गर्ने उद्देश्यले अलाइन्सको गठन भएको हो ।

    अलाइन्सको तदर्थ समिति अध्यक्ष भाष्करराज राजकर्णिकारले १२ सय करोडको अहिलेको विज्ञापन बजारलाई २५ सय करोडको विज्ञापन बजार बनाउने लक्ष्यका साथ अलाइन्सको स्थापना भएको बताए ।  सञ्चार नीति अभावमा २० अर्ब बढीको लागनी भएको क्षेत्र टुहुरो बन्न पुगेको उनले बताए । उनले एउटै अनुमति पत्रमा निजी क्षेत्र र सरकारी क्षेत्रलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्न नहुने बताए ।

    अलाइन्सका सल्लाहकार क्याप्टेन रामेश्वर थापाले आवश्यकताभन्दा बढी सञ्चार संस्था खुल्नु, ठूलो लगानी हुनु र बजारले धान्ने अवस्था नहुँदा विकृति बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराए ।  सहज रुपमा सञ्चार माध्यम चल्न सक्ने अवस्था नभए विकृति निम्तिन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न स्वतन्त्र, स्वायत्त र व्यवसायिक व्यक्तिको सहभागिता रहेको छुट्टै नियामक निकायको आवश्यकता रहेको बताए।

    इमेज च्यानलका अध्यक्ष आरके मानन्धरले मिडिया उद्योगलाई बचाउन नसके त्यसमा आश्रित पत्रकार र कामदारको रोजगारी पनि बचाउन नसकिने बताए ।  सञ्चार माध्यम चल्न धौधौ परेको बेला थपिएको दायित्वले सञ्चार माध्यम नै बन्द हुने अवस्था सिर्जना हुँदा एउटा प्रतिनिधिमुलक संस्थाले संरक्षण गर्न प्रदान गर्न नसक्नु दुःखद् भएको बताए ।

    अलाइन्सले विगतका प्रतिनिधिमुलक संस्थाले गरेका कमि कमजोरी सच्याएर अगाडि बढ्नेमा सफल हुने विश्वास उहाँले व्यक्त गए ।

    प्रतिक्रिया दिनुहोस