२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

सोलु करिडोरको म्याद चौथो पटक थपियो

  • २०७७ आश्विन १, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- तोकिएको मितिमा काम नसकिएपछि निर्माणाधीन विद्युत प्रशारण लाइनको आयोजना सोलु करिडोरको म्याद थपिएको छ । तेस्रो पटक थपिएको म्यादमा समेत कोरोनाका कारण काम नसकिएपछि चौथो पकट म्याद थपिएको हो ।

    सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी उक्त आयोजना सम्झौता भएको थियो । सोलुखुम्बुमा उत्पादन हुने विद्युत बाहिर लैजान १३२ केभी प्रसारणलाइन निर्माण गरिए पनि काम अधुरै छ । सोलु दूधकुण्ड नगरपालिका– ११ स्थित तिङ्लामा सवस्टेसन निर्माण भइसके पनि करिडोरको ओखलढुंगा खण्डमा काम अधुरै छ ।

    केही स्थानमा टावर निर्माण र तार तान्ने काम बाँकी छ । आयोजना प्रमुख जनार्दन प्रसाद गौतमका अनुसार सन् २०२० जुलाई १५ मा सक्ने शर्तमा तेस्रो पटक म्याद थप गरिएको छ ।  योजनामा भारतीय कामदार कार्यरत रहेकाले कामदार ल्याउन समस्या भएको गौतमको भनाइ छ ।

    सिरहाको मिर्चैयादेखि तिङ्लासम्म ३०२ टावर बनाउनुपर्ने भएपनि अहिलेसम्म २८१ वटाको फाउण्डेशनको काम सकिएको छ । अब २१ टावर निर्माण बाँकी छन् । यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ ।

    लामो समय सामुदायिक वनको विवादले गर्दा वन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोला २३ दशमलव ५ मेगावाटमा उत्पादन भएको विद्युत् खेर गइरहेको छ । अहिले ११ केभी प्रसारण लाइनमार्फत ओखलढुंगा सव स्टेशनमा लगेर खपत गर्ने प्रयास गरिए पनि उत्पादनको एक तिहाइ बिजुली पनि खपत भएको छैन ।

    कम क्षमताको सव स्टेशनमा बढी लोड भएकाले धेरैजसो समय तार जल्ने लगायतका समस्याले ओखलढुंगामा विद्युत अबरुद्ध हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस