२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

असाेज १ बाट हाेटल व्यवसाय सञ्चालन

Thumbnail
  • २०७७ भाद्र ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सरकारले स्वास्थ्यका मापदण्ड पूरा गरी यही असोज १ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ।

    सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेको स्वास्थ्यका मापदण्ड पूरा गरी होटल, रेण्टुरेन्ट, पदयात्रा र  ट्राभल व्यवसाय सञ्चालन गर्न सकिने बताए।

    उनीहरुले स्वास्थ्य तथा सुरक्षाको पालना गरेनगरेको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने छ।

    यस्तै नेपालमा सञ्चालित विभिन्न विकास आयोजनामा प्राविधिक जनशक्ति विदेशबाट ल्याउनका लागि अनुमति खुला गरिएको छ। त्यसका लागि त्यस्ता जनशक्तिले ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य गरिएको छ।

    यस्तै विद्यालयमा  विद्यार्थी उपस्थित गराएर कक्षा सञ्चालन गर्न नसकिने अवस्थामा दूर र वैकल्पिक शिक्षाका माध्यमबाट शिक्षण र सिकाइलाई निरन्तरता दिने निर्णयसमेत गरिएको छ।

    सरकारले शैक्षिक संस्था, परीक्षा, सेमिनार, गोष्ठी, सिनेमा हल, डान्सबार, सैलुन, स्विमिङ पुल, समूहमा खेलिने खेल, धार्मिक तथा सामाजिकस्थल, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना जस्ता बढी भीड हुने क्षेत्र भने अझै बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले बताए। अर्को निर्णय गरेपछि मात्र यी क्षेत्र खुला गरिने छ।

    हिमाल र पदयात्रा प्रयोजनका लागि नेपाल आउने पर्यटकका लागि आगामी कात्तिक १ गतेदेखि खुला गरिएको छ। त्यसका लागि ७२ घण्टाअघिको पीसीआर नेगेटिभ रिपोर्ट चाहिने छ।

    प्रवक्ता ज्ञवालीले मुलुकले स्वास्थ्य र आर्थिक सङ्कटको सामना गरिरहेको बताए। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता  ज्ञवालीले स्वास्थ्य र आर्थिक सङ्कटको समुचित समाधान हुन नसके ठूलो जोखिम पैदा हुने बताए।

    प्रतिक्रिया दिनुहोस