२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024
समाचार टिप्पणी

विद्यार्थी-शिक्षक विज्ञप्ति काण्ड: …….. लाईभन्दा देख्नेलाई लाज !

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • ओखलढुंगा- हाँडी गाउँ ओखलढुंगामा छैन, तर याे हप्ता एक फेसबुक स्टाटसलाई लिएर चलेकाे विज्ञप्तिकाे दाेहाेरीले ‘कँही नभएकाे जात्रा हाँडी गाउँमा’ भन्ने उखानलाई माथ खुवाउन सर्वाधिक सफल बन्याे ।

    …….. लाईभन्दा देख्नेलाई लाज ! भने झैं  एक शिक्षककाे त्यही स्टाटसलाई लिएर नेपाली काँग्रेसका दुई भातृ तथा शुभेच्छुक संगठन नेपाल विद्यार्थी स‌ंघ र नेपाल शिक्षक स‌ंघसहित नेकपा सम्कावद्ध अन्य दुई शिक्षक संगठनकाे जुहारी चल्याे ।

    जुहारी यस कारण राेचक बन्याे कि एक शिक्षकले पार्टीकाे गतिवधीमा सहभागी भएर प्रवेश कार्यक्रममा खादा लगाइ दिएर आफु सम्बद्ध पार्टी निर्माण अभियानबारे लेखेकाे स्टाटसलाई आधार मानेर कारवाही समेतकाे माग गरी ओखलढुंगाका दुई नेवि संघ (विद्राेही र आधिकारिक) ले विज्ञप्ति निकाले । तिनै विज्ञप्तीकाे खण्डनमा नेकपा सम्बद्ध दुई शिक्षक स‌ंगठनसँग काँग्रेसकाे शिक्षक स‌ंघ  उँभियाे ।

    स्टाटस लेखेर नेवि संघ र केही अनलाइनका निशानाकाे केन्द्रमा थिए, नमुना विद्यालय बरुणेश्वर मावि रामपुरका प्रधानाध्यापक कुलप्रसाद खतिवडा । र, तीनै दुई नेविस‌ंघका विज्ञप्तीलाई आधार मानेर काँग्रेस सम्बद्ध व्यक्तिले चलाएका केही अनलाईनहरुले ‘राज्यकाे तलब खाएर नेकपाकाे संगठन विस्तार गर्नेलाई किन कारवाही नहुने’ भन्दै समाचार लेखेका थिए ।

    त्यसकाे खण्डनमा नेकपा सम्वद्ध शिक्षक संगठन त उँभिने नै भाे । यसलाई स्वभाविक मान्न सकिएला । तर,  नेकपा सम्वद्ध शिक्षक संगठनसँग काँध मिलाउन पुगेकाे शिक्षक संघ चाँही असली शैक्षिक आन्दाेलनकाे नेता जस्ताे देखियाे । यसकाे निहितार्थ  नेपाली कांग्रेसकाे केन्द्रिय विभाग र जिल्ला कार्य समितिमा रहेका शिक्षक नेताहरुकाे बचाउ गर्न थियाे ताकि उनीहरुमाथि फेरि अखिलले ताताेपानी नखन्याओस् ।

    यहाँ विद्यार्थी संगठन पनि छन् है भनेर जनाउ दिन आन्दाेलनका मुद्दा शिरानी मुनि किचेर व्यक्ति विशेष विरुद्ध उत्रिएका नेविसंघ र शिक्षक संघकाे चाला ‍‍‍‍‍चाँही ‘म कुटे झैं गर्छु, तँ राेए झैं गर’ भन्ने बाहेक केही हाेइन । शिक्षक संघका एक नेताका अनुसार शिक्षक संघले ‘आफ्ना भाइहरुकाे काेर्स करेक्सन’ गराउन मात्रै खाेजेकाे रे !

    ठूलाे दम्भका साथ शैक्षिक सुधार तथा आन्दाेलन आफूँहरुले मात्र धानिदिएकाे जस्ताे भान हुने गरि दावा गरिए पनि आकाश हेरेर थुकेकाे थुक आफ्नै थुतुनामा लपेटिएकाे हेक्का भने तीनलाई रहेनछ !

    याे मुद्दाका मूल पात्र बनाइएका कुलप्रसाद खतिवडा नेकपा सम्वद्ध एक शिक्षक संगठनका पदाधिकारी  हुन् । उनकाे पार्टीमा जिम्मेवारी छैन । शिक्षकलाई ट्रेड युनियन अधिकार छ तर पार्टीमा पदाधिकारीकाे जिम्मेवारीमा बस्न नपाउने विद्यमान एेन तथा कानुनमा छ ।

    यसकाे अर्थ पार्टी राजनीतिमा शिक्षककाे उपस्थिति नहाेस् भन्ने हाे । यसरी हेर्दा कुलप्रसाद पार्टीकाे राजनीतिक कार्यक्रममा जानु, प्रवेशै गराएर ‘टिकाटाला’ गर्नु ठिक हाे त ? भन्ने प्रश्न त उठ्छ तर, याे भन्दा दमदार प्रश्न चाँही शिक्षक भएर नेपाली कांग्रेसकाे केन्द्रिय विभाग र जिल्ला कार्य समितिमा बसेर विद्यालयमा भन्दा बढी पार्टी कार्यालयमा हाजिर गर्ने, पार्टीका कार्यक्रममा भाषण गर्न काँग्रेसी शिक्षकहरुलाई छुट छ त ? भन्ने हाे ।

    यस कारण पनि मुद्दा व्यक्ति विशेषकाे हुँदैन । नीति विशेषकाे मुद्दा हाे भने नेविसंघ मात्रै हैन अखिल समेत मिलेर राज्यकाे तलब खाएर शैक्षिक सुधारकाे जिम्मेवारी पाएका शिक्षकहरु किन पार्टीका पदाधिकारी बनेर हिड्छन् ? उनीहरुलाई जिम्मेवारीबाट हटाउन आन्दाेलन थालुन् । अन्यथा ‘आफ्नाले पादेकाे गन्धै मिठाे’ भनेर हिडे भइगयाे । शैक्षिक  सुधारका आन्दाेलनकाे स्वघाेषित ठेकेदार नबन्दै नाक रहन्छ ।

    यसर्थ कसैले कुनै शैक्षिक मुद्दा उठाउँदा मेराे पाे मुद्दा थियाे जस्ताे व्यवहार देखाउने, शैक्षिक आन्दाेलन आफ्नै पेवा हाे भने जस्ताे गर्ने, तर ठिक विपरित शिक्षण संस्थालाई दुषित राजनीतिकाे केन्द्र बनाउने चाँही कसैलाई छुट छैन । दुवै पक्षका विज्ञप्तिमा निकै ठूलाे दम्भका साथ शैक्षिक सुधार तथा आन्दाेलन आफूँहरुले मात्र धानिदिएकाे जस्ताे भान हुने गरि दावा गरिए पनि आकाश हेरेर थुकेकाे थुक आफ्नै थुतुनामा लपेटिएकाे हेक्का भने तिनलाई रहेनछ !

    शिक्षक संगठनहरु र नेविसंघका विज्ञप्ति

    प्रतिक्रिया दिनुहोस