२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

‘शेराेगेसी’ धन्दा चलाएकाे ग्राण्डी सिटी हस्पिटल अवैध रहेकाे पुष्टि

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौंको कान्तिपथस्थित ज्योति भवनमा रहेको ग्राण्डी सिटी हस्पिटल अवैध रूपमा सञ्चालनमा रहेको उक्त भवनका मालिक तथा उद्योगपति पद्मज्योतीले नै पुष्टि गरेका छन् ।धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय हस्पिटलले सात वर्षअघि सम्पर्क क्लिनिकको रूपमा खोलेको ग्राण्डी सिटी क्लिनिक अहिले अवैध हस्पिटल बनेको हो ।

    ज्योतिले हालै प्रकाशित गरेको सार्वजनिक सूचनामा भाइ डा. रूपज्योती र मिला सायमी मिलेर खोलेको उक्त अस्पतालले आफ्नो स्वामित्वको भवन समेत प्रयोग गरेपनि हालसम्म भाडा नदिएको उल्लेख गरेका छन् । साथै, उनले भाइ र मिलाले आफूसँग घरभाडाको सम्झौता समेत नगरी एकतर्फी रूपमा भवन प्रयोग गरेको आरोप लगाएका छन् ।

    जनआस्था अनलाइनले गत महिना ‘यौटा अस्पताल जो कतै दर्तै छैन’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । अहिले पद्मज्योतीले पनि सबै सरकारी निकायमा भिडाएको विवरणबाट उक्त अस्पताल अवैध नै भएको ठोकुवा गरेका छन् ।

    उनले हालै प्रकाशित गरेको सूचनामा ‘जनस्वास्थ्य सेवा ऐन, २०७५ मा इजाजतपत्र प्राप्त नगरी अस्पताल सञ्चालन गरेको अवस्थामा दण्डात्मक व्यवस्था रहेकोले गैरकानुनी रूपमा सञ्चालित अस्पतालमा सेवारत चिकित्सकको आचारसंहिताको वैधता, चिकित्साको गुणस्तर र सर्वसाधारणको जीवनमा पर्नसक्ने असरको बारेमा समेत प्रश्न उठेको…’ उल्लेख गरेका छन् ।

    उनले लेखेका छन् ‘आमजनताको स्वास्थ्य जस्तो गम्भीर विषयसँग सम्बन्धित भएकाले राज्यका जिम्मेवार निकायले तत्काल गैरकानुनी सञ्चालन रोकी बलजफ्ती बसेको घर खालि गराई तत्पश्चात् थप अनुसन्धान र कारबाही गर्ने अपेक्षा राखेको छु ।’

    राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा अर्थ सहायक मन्त्री बनेका उद्योगपति डा. रूप ज्योती उक्त अस्पतालका अध्यक्ष हुन् । गत वर्ष घरजग्गा कारोबारसम्बन्धी विवादमा विकेन्द्रकृष्ण मल्लको उजुरीको आधारमा उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ परेर हिरासतमा राखेको थियो ।

    विगतमा यो अस्पताल भाडाको कोखमा बच्चा उत्पादन गर्ने (सरोगेसी) थलोको रूपमा पनि ठूलै विवादमा आएको थियो । ग्राण्डी सिटी अस्पतालले प्रतिबन्धित सरोगेसीको धन्दा चलाएपछि त्यसका अध्यक्ष रूपज्योती स्वयम् विवादमा तानिएका थिए । नेपाललगायत विश्वका धेरैजसो देशमा सरोगेसीमाथि प्रतिबन्ध छ । –जनआस्थाबाट

    प्रतिक्रिया दिनुहोस