२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

चीन-भारत तनाब : ४५ वर्षपछि पहिलो पल्ट सिमानामा गोली चल्यो

  • २०७७ भाद्र २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • नयाँदिल्ली- भारतीय सेनाले चिनियाँ सेनालाई लद्दाखस्थित विवादित सीमा क्षेत्रमा हवाइ फायरिङ गरेको आरोप लगाएको छ ।

    चिनियाँ सेनाले सोही स्थानबाट गोली प्रहार गरेको भन्दै आरोप लगाएको केही घण्टापछि नै भारतीय सेनाले यस्तो जनाएको हो । मंगलबार विज्ञप्ति निकाल्दै भारतीय सेनाले चिनियाँ सेनालाई केही राउण्ड गोली प्रहार गरेको आरोप लगाएको हो ।

    सीमा क्षेत्रमा केही समययता जारी तनाबका बीच भारतीय सेना प्रमुख जनरल मनोज नराभानेले रक्षामन्त्री राजनाथ सिंहलाई घटनास्थलको वस्तुस्थितिबारे जानकारी गराएका थिए । १९७५ पछि भारत–चीन सिमानामा गोली चलाइएको थिएन । भारतीय सेनाले भने विज्ञप्तिमा वास्तविक नियन्त्रण सीमा रेखामा उपस्थिति घटाउन आफूहरु प्रतिवद्ध रहेको जनाएको छ । तर चीनले उत्तेजित पार्ने गतिविधि आफूहरुप्रति गर्दैआएको भारतीय सेनाको दावी छ । यतिसम्म कि, उत्तेजित पार्ने क्रममा गोली प्रहार समेत गरेको आरोप भारतीय सेनाले लगाएको छ ।

    चिनियाँ जनमुक्ति सेनाले भारतीय सेनालाई वास्तविक नियन्त्रण रेखाबाट पार गरेको, प्यांगोङ लेकको दक्षिण घाटी र सेन्पाओ हिमालमा प्रवेश गरेको आरोप लगाएको छ । साथै भारतीय सेनाले त्यहाँबाट चेतावनीयुक्त गोली प्रहार गरेको चिनियाँ सेनाको आरोप छ ।

    यस्तै दुई देशबीच कुटनीतिक संवाद जारी रहँदा चिनियाँ सेनाहरु सिमानामा युद्धअभ्यास गर्ने गरेको भन्दै भारतीय सेनाले रोष प्रकट गरेको छ । साथै भारतीय सेनाले सीमाक्षेत्रमा शान्ति र सद्भाव कायम गर्न प्रतिवद्ध रहेको भन्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकता रक्षाको लागि जुनसुकै मुल्य चुकाउन तयार रहेको उल्लेख गरेको छ ।

    यद्यपि गत सोमबार दुई देशका सैनिक ब्रिगेडियर स्तरमा वार्ता भएको थियो । साथै रुसको मस्कोमा समेत पछिल्लो साता दुई देशका रक्षामन्त्रीहरुबीच भेटवार्ता भएको थियो । २०२० को सुरुवातसँगै लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच तनाब हुँदैआएको छ । जुनको दोस्रो साता दुई देशका सेनाहरुको झडपमा २० जना भारतीय सैनिक मारिएका थिए ।

    प्रतिक्रिया दिनुहोस