संक्रमित भएपछि सभापति प्रदिप सुनुवारले के भने ?
ओखलढुंगाः ओखलढुंगामा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ र नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवारलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार कांग्रेसका जिल्ला सभापति सुनुवार, जिसस प्रमुख श्रेष्ठ सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुलाई केही दिनदेखी ज्वरो आएको र सदरमुकाम ओखलढुंगास्थित कोठामै आराम गरिरहेका थिए । त्यस अघि उनीहरु काँग्रेसको क्रियाशिल सदस्यता वितरण अभियानमा गाउँ घुमेका थिए ।
उनीहरुलाई कसरी संक्रमण भयो भन्ने यकिन भएको छैन । सभापति सुनुवारले आफँु संक्रमित भएको र जिल्लाबासीलाई सुरक्षित रहन अपिल गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘आफुलाई कसरी संक्रमण भयो भन्ने अनुमान गर्न नसकेको र शारीरिक रुपमा अवस्था समान्य छ, जिल्लाबासी र तथा शुभचिन्तकहरुलाई सुरक्षित रहन अपिल गर्छु ।’
जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठ सहित उनको परीवारका ३ जना सदस्यमा समेत कोरोना देखिएको छ । उनका परिवार केही पहिले काठमाण्डौबाट जिल्ला आएका थिए । संक्रमितहरुलाई रुम्जाटारको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ । संक्रमति अन्य १ सर्वसाधारण र ३ प्रहरी रहेका छन् ।
पछिल्लो समय पठाइएको ८१ जनाको स्वाबमध्ये १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताउनुभयो । उहाँका अनुसार ९ जना नयाँ संक्रमित थपिएका छन् भने ३ जना यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका सकृय संक्रमितहरुकै रिपोर्ट पोजेटिभ आएको हो ।
मंगलबार आएको रिपोर्टमा सुनकोशी गाँउपालिकाका सबैभन्दा धेरै ५ जना, खिजिदेम्बा गाँउपालिकाका १ जना, मानेभञ्ज्याङ गाउपालिकाका १ जना र जिल्लामा सरुवा भएर आएका २ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकै दिन १२ जनामा कोरोना संक्रमण देखिएसँगै जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सबैलाई सतर्क रहन आग्रह गरेको छ । भेटघाट र भिडभाड नगर्न आग्रह गर्दै ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले संक्रमितहरु बढी घुमफिर गरेका हुनाले भएकाले सम्पर्कमा रहेकाहरुले स्वाब परीक्षण गराउनुपर्ने बताए । प्रशासनले विज्ञप्ती जारी गर्दे भिडभाड हुनेखालका कुनै पनि गतिबिधि नगर्न सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस