२०७७ मंसिर २०, शनिबार | Sat, 05, Dec, 2020

काेराेना कहर: करेसाबारी स्याहार्दै कलाकार

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित २ महिना अघि
  •  ओखलढुंगा-  रुम्जाटारस्थित कल्याण राईको घर पुग्दा सुठुनी (सखरखण्ड) रोप्दै थिए । सुठुनीकै छेउमा दुई अढाई सय बोट स्ट्रबेरी थिए । भुईं स्याउको बोट झ्याम्म देखिन्थ्यो । अरु दर्जनौं फलफूलका बोटहरुमा मल र सिंचाई गरेको प्रष्टै देखिन्थ्यो ।

    कल्याणको परिचय लोक गायक र कलाकार हो । उनी केही समय हाँस्य सिरियल ‘मेरी बास्सै’मा तत्कालीन सभामूख सुवास नेम्वाङको भूमिकामा चर्चित थिए । दुईदशकदेखि विभिन्न चलचित्र र दर्जनौं टेलिसिरियल, म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् । राजधानीको बसाई छोडेर घर फर्केको तीनवर्ष भयो । तर कलाकारिता छोडेका थिएनन् ।

    ‘बिचबिचमा सुटिङका लागि आउजाउ भइरहन्थ्यो ।’ सुठुनी बारीमै गफ गर्दै उनले भने, ‘कोरोना महामारी शुरु भएदेखि ढुक्कै गाउँमा छु । गाई र सुंगुर पालेको छु । यसपाली आफ्नै हातले खेत जोतेर धान रोपियो । आनन्द लागेको छ ।’ बिहान एक भारी दाउरा ल्याउने र बेलुकी ४० मिनेटको बाटो हिँडेर नाम्लो लगाएर घा“सको भारी ल्याउँछन् ।

    सबैभन्दा आनन्द गाउँघरमै बसेर कृषिकर्म गर्दा लाग्ने गरेको उनले सुनाए । ‘माटो खोस्रिएर अन्न फलाउनु जस्तो मज्जा त अरु कुनै काममा देखिएन ।’ उनले भने, ‘कोरोना महामारी त्यसका लागि झन अवसर बनेर आयो । अब चाहीँ कलाकारिता सहायक पेशा र कृषि कर्म मूख्य पेशा बनाउने सोच्दैछु । आखिर अप्ठ्यारो गाह्रो साह्रोको बेला गाउँ नै प्यारो हुने रहेछ । सहर त पाहुना जस्तो रहेछ ।’

    सोलुखुम्बु माप्य दुधकोशी ६ वाकुका गणेशकुमार राई लकडाउनको पहिलो महिना सम्म काठमाडौंमै थिए । कविता, साहित्य, पत्रकारिता र अध्ययनमा रमाईरहेका गणेशकुमारले भविष्य राजधानीमै खोजिरहेका थिए । पहिलो महिनाको लकडाउन पश्चात गाउँ फर्केका उनको सोच अहिले सर्लक्कै बदलिएको छ ।

    सहरमा डेरा गरेर स-साना पेशा गर्दै आएका धेरैजसो अहिले गाउँ  फर्किएका छन् । अधिकांशले कृषि र पशुपालनमा हात हालेका छन् । सम्भावनाको अध्ययन गरिरहेका छन् । एक दशकदेखि बाँझो भएको र जंगल पलाएको खेतबारीमा यसवर्ष खनजोत भएको छ ।

    २६ रोपनीमा २ हजार बोट कफिका बेर्ना रोपिसके । अकबरे खुर्सानी फल्न थालिसक्यो । ‘अहिले त यी बोट बिरुवा स्याहार्दा स्याहार्दै अब आफ्नै हातले नस्याहारे चित्तै नबुझ्ला जस्तो हुन थाल्यो ।’ उनले भने, ‘सहरमै रमाउने सपना यसपाली देखि देख्नै पो छोडियो हौ । अब धेरैजसो गाउँमै कृषिमा केही गर्ने भनेर पसिना बगाउन थालेको छु ।’

    सोलुखुम्बु सोताङका भद्रगोल किराती पनि साहित्य र कलाकारिता पेशामा छन् । उनी लकडाउन शुरु भएपछि गाउँ फर्केका थिए । लकडाउनकै बेला गाउँको एकजना बिरामी काठमाडौं लाने काममा राजधानी पुगेका उनलाई कहिले राजधानीको लकडाउन खुल्ला र गाउँ फर्कौं भईरहेको छ ।

    ‘अब गाउँमै अलिअलि घाँसखेती गर्ने योजना छ ।’ किरातीले भने, ‘गाउँमा बुढीआमाले गर्नु भएको निर्वाहमुखी पशुपालन र खेतीलाई व्यवसायिक कसरी बनाउन सकिन्छ भन्ने योजना बनाईरहेको छु ।’ कोरोनाले उनलाई एउटै पाठ चाहीँ के सिकायो भने, ‘गाउँघर र कृषिको विकल्प अरु छैन । त्यसैले पक्कापक्की अब धेरै समय गाउ“मै बिताउनेछु ।’

    यी केही प्रतिनिधि पात्र मात्र हुन् । सहरमा डेरा गरेर स-साना पेशा गर्दै आएका धेरैजसो अहिले गाउँ  फर्किएका छन् । अधिकांशले कृषि र पशुपालनमा हात हालेका छन् । सम्भावनाको अध्ययन गरिरहेका छन् । एक दशकदेखि बाँझो भएको र जंगल पलाएको खेतबारीमा यसवर्ष खनजोत भएको छ ।

    ‘धान रोपाईको क्षेत्रफल कोरोनाकै कारणले यसवर्ष बढेको छ । कति क्षेत्रफलमा बढ्यो भनेर हामीले तथ्यांक संकलन गरिरहेका छौँ ।’ कृषि ज्ञान केन्द्र ओखलढुंगाका सुचना अधिकारी हेम आले मगरले भने, ‘दश वर्ष यताकै सबैभन्दा बढी खेती भएको छ । गतवर्षहरुमा ८० प्रतिशत रोपाई हुन्थ्यो भने यसवर्ष शतप्रतिशत खेतमा रोपाई भएको छ ।’

    २०७२ को भुकम्पको बेला गाउँ फर्किएकाहरु दोश्रो महिनामै सहर फर्किएका थिए । कोरोनाका कारण छ महिनादेखि गाउँमै रहेकाहरुले छोराछोरी समेत गाउँ ल्याएर पढाउन थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस