२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

लघु जलविद्युतको अर्बौं लगानी, बालुवामा पानी

  • २०७७ भाद्र २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- दश वर्षअघि मानेभन्ज्याङ गाउँपालिका ५ का स्थानीयले १२ किलोवाट क्षमताको माइक्रोहाइड्रो (लघु जलविद्युत) संचालन गरे । गाउँमा बत्ति बल्दा कम्ति खुशीयाली छाएन । सर्वसाधारणले ब्याजमा ऋण काढेर, गहना बेचेर र दुहुना गाई बेचेर समेत लगानी गरे । दातृ निकायको सहयोग र गाविसको बजेट त्यसैमा खन्याए । एक करोड भन्दा बढी खर्च भयो ।

    पानीको मात्रा घट्दा विद्युत उत्पादन केही घट्यो । मेसिनले उत्तिकै काम गरिरहेको छ । जनश्रमदानमा बगाएको पसिना अझै ओभाएको छैन । तर यसवर्षदेखि उनीहरुको यो लगानी खेर जाने भएको छ । गाउँमा राष्ट्रिय प्रसारण लाइन जडानको काम भईरहेको छ । स्थानीय लघुजलविद्युत आयोजना विद्युत प्राधिकरणलाई हस्तान्तरण नगरेसम्म राष्ट्रिय प्रसारण नजोडिने भएपछि उनीहरुले कागज गरेरै हस्तान्तरण गरे ।

    ‘विद्युत प्राधिकरण मातहत हामीले जिम्मा दिइसक्यौं । अब हाम्रो पोल, ट्रान्सफर्मर र तार प्राधिकरणले प्रयोग गर्ने भनेको छ । मेसिन चै त्यसै बिग्रेर जाने भयो ।’ रुम्दुखोला लघुजलविद्युत आयोजनाका अध्यक्ष मानबहादुर पुलामीले भने, ‘राष्ट्रिय प्रसारण लाइनको विजुली आएपनि विकल्पको रुपमा हामीले आयोजना संचालन गर्न पाएको भए हुने थियो । तर प्राधिकरणले दिएन ।’

    सर्वसाधारणले ब्याजमा ऋण काढेर, गहना बेचेर र दुहुना गाई बेचेर समेत लगानी गरे । दातृ निकायको सहयोग र गाविसको बजेट त्यसैमा खन्याए । एक करोड भन्दा बढी खर्च भयो ।

    यो समस्या मानेभन्ज्याङको मात्रै होइन । समग्र पूर्वी पहाडकै हो । एक दशक यता लघु जलविद्युत आयोजना निर्माण गरेर बत्ति बाल्ने लहर चलेको थियो । यस अवधिमा ओखलढुंगामा ५० वटा भन्दा बढी लघु जलविद्युत आयोजना निर्माण भए । हाल ४० वटा भन्दा बढी संचालनमा छन् । कतिपय आयोजना संचालनमा आएको एकवर्ष पनि बितेको छैन । ५ किलोवाटदेखि १ सय किलोवाट सम्मका लघु जलविद्युत आयोजना संचालनमा छन् ।

    जिल्लाभरिको आयोजनाबाट उत्पादित कूल विद्युत क्षमता जोड्ने हो भने करिब १ मेगावाट पुग्छ । लगानी जोड्ने हो भने एक अर्ब हाराहारी छ । तर राष्ट्रिय प्रसारण लाइन जोडिएपछि यी लगानी बालुवामा पानी हाले सरह हुने खिजिदेम्बा गाउ“पालिका ५ का प्रदीप सुनुवारले बताए । ‘उपभोक्ताले ९० दिनसम्म श्रमदान गरेका छन् । पैसा हालेका छन् । ती सबै लगानी अब खेर जाने भयो ।’ सुनुवारले भने, ‘कम्तिमा यी आयोजनाका विद्युत राष्ट्रिय प्रसारणमा जोड्ने र उपभोक्तालाई लगानी अनुसार मुनाफा दिनुपर्ने हो ।’

    प्राधिकरणले उल्टै लघुजलविद्युत आयोजनाकै पोल, ट्रान्सफर्मर र तार प्रयोग गर्ने अनि नाफा लिने गरेको उनले बताए । खिजिदेम्बा गाउँपालिका जिल्लाकै सबैभन्दा बढी लघु जलविद्युत आयोजना संचालन भएको गाउँपालिका हो । यहाँ हाल १२ वटा लघुजलविद्युत संचालनमा छन् ।
    विद्युत प्राधिकरणले लघु जलविद्युत आयोजनाहरु जिम्मा लिएर त्यही लाइनमा राष्ट्रिय प्रसारणको विद्युत जोड्ने काम भइरहेको जनाएको छ । ‘हामीलाई आवश्यक स्तरको पोल, तार, ट्रान्सफर्मर हामी प्रयोग गर्छौं । मर्मत, स्याहार पनि हामी नै गर्छौं ।’ विद्युत प्राधिकरण वितरण शाखा ओखलढुंगाका प्रमूख संजिवकुमार साहले भने, ‘तर त्यहाँ उत्पादित विजुलीलाई जोड्ने र उपभोक्तालाई कुनै किसिमको भुक्तानी गर्ने भन्ने प्रावधान हामीकहाँ छैन ।’

    यस विषयमा प्राधिकरण केन्द्रको संचालक समितिमा समेत छलफल भएको सुनिएको तर नयाँ कुनै निणर्य भएको नबुझेको साहले बताए । हालसम्म ओखलढुंगाको आठवटा लघुजलविद्युत आयोजना प्राधिकरण मातहत आईसकेका छन् । लिखु गाउँपालिकाको दुईवटा आयोजना उपभोक्ताले हस्तान्तरण गर्न नमानेपछि काम रोकिएको छ ।

    उज्यालो ओखलढुंगा अभियान जारी

    आठ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र मोलुङ गाउँपालिकाको अधिकांश भुभागमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगिसकेको छ । यसै वर्ष गाउँपालिका क्षेत्रभरि विद्युत विस्तार गर्ने योजनाको साथ मानेभन्ज्याङ गाउँपालिकामा काम भईरहेको छ । त्यसका लागि सोलु करिडोरले प्रसारण लाईन आसपास पर्ने तीन किलोमिटर क्षेत्रमा २० करोड बजेट विनियोजन गरि विद्युत वितरणको काम गरेको छ ।

    सोलु करिडोरको बजेटबाट अपुग क्षेत्रमा लाईन विस्तार गर्न विद्युत प्राधिकरणले एक करोड पा“च लाख बजेट विनियोजन गरेको छ । बाँकी अपुग क्षेत्रमा गाउँपालिकाले बजेट छुट्याएर यसैवर्षभित्र विद्युत प्रसारण गाउँपालिकाक्षेत्र भरि विस्तार गरिसक्ने जनाएको छ ।

    सबै स्थानीय तहहरुले विद्युतीकरणका लागि बजेट विनियोजन गरेका छन् । सुनकोशी गाउँपालिकाको लागि गतवर्ष विद्युत प्राधिकरणले एक करोड सात लाख बजेट विनियोजन गरेको विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रका प्रमूख सन्जिव साहले बताए ।

    त्यसैगरि सुनकोशी गाउँपालिकाको कोषभन्ज्याङमा सबस्टेशन बनाउनका लागि आवश्यक काम भईरहेको छ । कोषहाट र खिजिफलाँटेमा सबस्टेशन निर्माण गर्न सके जिल्लाभरिकै लागि पर्याप्त हुने अनुमान छ । आगामी दुई देखि तीनवर्ष भित्र पुरै जिल्लाभरि राष्ट्रिय प्रसारण लाइन जोडेर उज्यालो ओखलढुंगा बनाउने अभियानकै रुपमा काम भइरहेको प्राधिकरणले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस