२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

संक्रमति बोक्ने चालकका दुःख: घरमा बासै पाएनन्, एम्बुलेन्स पार्किङ्मा समेत रोक

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • ओखलढुंगा- नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सका एक चालकले १५ दिन पहिले कोरोना संक्रमित अस्पतालसम्म पुर्‍याएर घर फर्किंदा रात परिसकेको थियो। उनी राति घर गए तर घरभित्र पस्न पाएनन्। कारण, उनले कोराना संक्रमितलाई एम्बुलेन्समार्फत हस्पताल पुर्‍याएका थिए।

    आफ्नै घरमा बास नपाएपछि उनले रेडक्रसका सभापति सुमन राजभण्डारीलाई जानकारी गराए। राजभण्डारीले रेडक्रसमै बस्ने व्यवस्था गरिदिए। पीसीआर जाँचपछि मात्रै घर जान परिवारले अनुमति दिए।

    संक्रमति बोकेको एम्बुलेन्स सामुदायिक अस्पताल सोब्रु आसपास कतै पार्किङ गर्न स्थानीयले दिएनन्। उनले सुरक्षा निकायको सहयोगमा सिद्धिचरण नगरपालिका वडा नं. ११ को स्वास्थ्य चौकीको कम्पाउण्ड पुर्‍याए। स्थानीयले त्यहाँ पनि संक्रमित बोकेको एम्बुलेन्सबाट कोरोना संक्रमण फैलने भन्दै विवाद निकाले।

    वडाका जनप्रतिनिधि समेतले एम्बुलेन्स हटाउन दवाव दिएपछि प्रहरी कार्यालयमा लगेर राखियो। कोरोना संक्रमित मात्रै होइन अन्य बिरामी बोक्नसमेत एम्बुलेन्स चालक र बलेरो चालक मान्दैनन्। यसको कारण समुदाय र परिवारले गर्ने व्यवहार भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। उनले भने, ‘समुदायमा आवश्यकताभन्दा बढी बुझ्ने केही व्यक्तिका कारण यस्तो समस्या आउने गरेको छ।’

    उनी मात्रै होइन, अर्का एक एम्बुलेन्स चाकलले जिल्ला अस्पताल रुम्जाटारमा संक्रमित पुर्‍याएपछि बास बस्न कतै पाएनन्। बस्नै नपाएको गुनासो आएपछि स्वास्थ्य कार्यालयका प्रमुखलाई भनेर अस्पतालमै बस्ने व्यवस्था मिलाएको प्रजिअ पौडेलको भनाइ छ। उनले बिरामी बोक्न कोही राजी नहुँदा कारवाही गर्छु भनेर पनि काम लगाउने अवस्था आएको बताए।

    ओखलढुंगामा विभिन्न निकायका ८ ओटा एम्बुलेन्स रहेका छन्। ७ वटा चालु अवस्थामा रहे पनि चाकलले परिवार र समाजले गर्ने व्यवहारका कारण सुरक्षा मापदण्ड सुनिश्चित गरेका बिरामी समेत बोक्न नमानेको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताए। जिल्लामा प्रयाप्त एम्बुलेन्स नहुनु र चालकलाई संक्रमण त्रास र उनीहरुलाई गरिने व्यवहारले बिरामीले समयमा अस्पताल जान सक्ने अवस्था नरहेको उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द मास्केले बताए।

    अन्य प्रकृतिका बिरामीले समेत नियमितभन्दा तेब्बर बढी तिरेर बोलेरो रिजर्भ गरेर अस्पताल आउनु पर्ने अवस्था छ। कोरोना संक्रमण त्रासले चालकले बिरामी बोक्न अस्वीकार गरेको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केशीले बताए। उनले प्रहरीलाई नगुहारी बिरामी अस्पताल पठाउनै नसकिने बताए।
    यही कारण समुदायस्तरमै सचेताना आवश्यक रहेको सरोकारवालाको भनाइछ। सबै स्थानीय तहले अन्य रोग र कोरोना तथा यसको संक्रमणको अवस्थाबारे सर्वसाधारणलाई थप बुझाउन आवश्यक रहेको सांसद यज्ञराज सुनुवार बताउँछन्।

    प्रतिक्रिया दिनुहोस