ओखलढुंगा- नेपाल रेडक्रस सोसाइटीले स्थापना दिवसको अवसरमा मास्क लगाऔं अभियान चलाएको छ । ओखलढुंगा सदरमुकामको शनिवारे हटियामा आउने किसान तथा उपभोक्ताहरुलाई अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गरेर कारोबार गर्नका लागि सचेतना जगाउन यस्तो अभियान चलाएको हो ।
शनिबार विहानैदेखि रेडक्रसकर्मी र सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठ हटियामा आउने किसान तथा अन्य उपभोक्तालाई अनिवार्य मास्क लगाउन आग्रह गर्दै निशुल्क मास्क वितरण गर्ने अभियानमा खटिएका थिए ।
उनीहरुलाई सचेत गराउने निशुल्क मास्क दिने र अर्को पटक आउँदा मास्क नलाएमा बजारमा कारोबार नपाइने, जरीवाना तिर्नु पर्ने भन्दै सचेत गराए । मेयर श्रेष्ठले मास्क नलाइ हिड्नेलाई तपाईंको मास्क खै भन्दै रोकेर मास्क दिएका थिए । उनले सचेत गराउँदै मास्क वितरण गरेको बताए । यस्तो अभियानले सबैलाई सचेत गराउन सहज हुने उनको भनाइ छ ।
रेडक्रस दिवसका अवसरमा शुक्रबार क्वारेन्टाइन र आइसोलेसन वार्डमा फलफुल वितरण गरेको थियो भने शनिवार निशुल्क मास्क वितरण गर्दै तपाईंको मास्क खै अचियान चलाएको हो ।
रेडक्रस जिल्ला शाखाका सभापति सुमन राजभण्डारीले पहिलो पटक सबैलाई सचेतना जगाएर निशुल्क मास्क वितरण गरेको र फेरि बजारमा कारोबार गर्दा अनिवार्य सबैले मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गरेर कोरोना संक्रमणबाट जोगिन सचेतना अभियान चलाएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस