२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

अकबरेले लखपति बने ज्यामिरेका तेजनारायण

  • २०७७ भाद्र १८, बिहिबार मा प्रकाशित ४ साल अघि
  • ओखलढुंगा- गाउँमा खुसार्नी बेचेर लखपति होइन्छ भन्दा धेरैलाई पत्यार लाग्दैन ।  तर, सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका ३१ वर्षीय तेजनारायण श्रेष्ठले अकबरे खुसार्नी बेचेरै बर्षमा १५ लाखसम्म आम्दानी गर्छन् । उनलाई अकबरेबाट गाउँमै मज्जाले पैसा कमाउन सकिन्छ भन्ने लगेको चाँही विदेशमा दु:ख पाएपछि मात्रै हो ।

    उनी ९ वर्ष अघि धेरै पैसा कमाएर ठूलो घर बनाउने सपना बोकेर कतार हानिए । धनैधनको सपना बुनेर कतार पुगेका उनले त्यहाँ प्रगति गर्न सकेनन् । कतारबाट गाउँ फर्किए । गाउँमा काम गर्ने मेसो नपाएपछि फेरि मलेशिया पसे ।

    मलेशियाले पनि उनको सपना पूरा गर्न सकेन । जसोतसो साढे २ वर्ष त्यहाँ समय बिताएर नेपाल फर्किएका उनी अकबरे खुर्सानीको खेती गरेर मालामाल बनिरहेका छन् । चार वर्षदेखि उनी आफ्नै बारीमा अकबरे उत्पादन गरेर नगरपालिकाकै अगुवा किसान बनेका छन् ।

    निर्वाहमुखी खाद्यवाली त्यागेर सुरुमा उनले ११ रोपनी जग्गाबाट अकबरे खेती थालेका थिए । ४ वर्षको अन्तरमा अहिले उनले भाडामा लिएको जग्गासहित २७ रोपनीभन्दा बढी क्षेत्रमा अकबरे खुर्सानी र तरकारी खेती गरिरहेका छन् । अन्य व्यवसायमा अहिले कोरोनाको महामारीले चौपट भए पनि उनलाई असर पारेको छैन । नत अकबरे बेच्न बजारै खोज्नु परेको छ ।

    मल्चिङबाट मालामाल 

    मल्चिङ प्रविधिबाट गरेको खेतीले मनग्गे आम्दानी दिइरहेको छ । उनले वार्षिक १५ लाख रूपैयाँ बढीको अकबरे खुर्सानी बेचिरहेका छन् । हप्तामा शनिबार र बुधबार दुई पटक ओखलढुंगा सदरमुकाममा लाग्ने हाटमा उनले खुर्सानी बिक्री गर्दै आएका छन् ।

    मल्चिङ विधि अपनाएर खेती गर्ने श्रेष्ठ जिल्लाकै पहिलो किसान हुन् । यो विधि अपनाउँदा उत्पादन लिन सकिन्छ भनेर सुरूमा कसैले विश्वासै गरेनन् । गाउँलेले मात्र नभएर बुवाआमाले समेत उनलाई गाली गरे । तर, उत्पादन दिन थालेपछि भने सबैले विश्वास गरेको श्रेष्ठले बताए ।

    उनले इन्टरनेटको माध्यमबाट मल्चिङ विधिबारे थाहा पाएका हुन् । ‘विदेशबाट फर्किएपछि ४ वर्षअघि के गर्ने भनेर सोचिरहेको थिएँ, श्रेष्ठले भने, ‘युट्युबमा मल्चिङ विधिबाट खेती गर्न सकिनेबारे थाहा पाएँ, त्यसैको आधारमा यो खेती सुरू गरेको हुँ ।’

    के हो मल्चिङ प्रविधि?

    मल्चिङ विधिबाट कोरिया, जापानलगायतका देशले मनग्गे आम्दानी गर्दै आएका छन् । माटोको ड्याङ बनाइ मल्चिङ प्लाष्टिक भित्र बेर्ना रोपेर गरिने यो खेती विकसित मुलुकमा सफल खेती प्रणाली मानिन्छ ।

    खुला प्रविधिभन्दा यसले उत्पादन तेब्बर दिने र कम परिश्रम गर्नुपर्ने भएकाले सजिलो भएको श्रेष्ठले बताए । मल्चिङ प्लाष्टिकको कारणले फेदमा धेरै झार नउम्रिने र गोडमेल गर्नु नपर्ने भएकोले यो प्रविधि सजिलो भएको उनको भनाइ छ ।

    कसैको सहयोगबिना व्यक्तिगत पहलमा खेती सुरू गरेका हुन् उनले । उनले गरेको मल्चिङ प्रविधि बुझ्न र कसरी गर्ने भनेर सिक्नका लागि किसानहरू समेत आउने गरेका छन् । ‘परम्परागत खेतीसँग त अहिलेको आम्दानी तुलनै गर्न सकिन्न नि, श्रेष्ठ भन्छन्, ‘अब कहिल्यै विदेश नजाने सोच बनाएको छु । अरूलाई पनि स्वदेशमै केही गर्नका लागि सल्लाह दिन्छु ।’

    प्रतिक्रिया दिनुहोस