२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

पत्रकार बलराम बानियाँ मृत्यु प्रकरण: यस्ताे छ छायांँचन्द्रकाे ६ घण्टे बयान !

  • २०७७ भाद्र ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • कान्तिपुरका पत्रकार बलराम बानियाँलाई बल्खु हुँदै बग्ने बागमतीको भेलले बगायो । त्यसरी बगेको भोलिपल्ट मकवानपुर, सिस्नेरी नजिकैको माण्डु खोलामा उनको पार्थिव शरीर पानीमा तैरिरहेको अवस्थामा फेला पर्यो ।

    दुई साताभन्दा पुरानो घटना हो यो । तर, उनको मृत्युको घटनालाई प्रहरीले विभिन्न कोणबाट अन्वेषण र विश्लेषण गरिरहेको छ । यसक्रममा बानियाँनिकट पत्रकार  छायाँचन्द्र भण्डारी र उनको परिवारको बयान लिएको छ ।

    पछिल्ला दिनहरुमा पत्रकार छायाँचन्द्र भण्डारीसँग बढीजसो समय साथमा रहने कारण बानियाँ परिवारका कतिपयले उनी बागमतीमा बग्नुका पछाडि छायाँचन्द्रको भूमिकामाथि शंका गरिरहेका थिए । तर, संकलित तथ्य, बयान र घटनाक्रमले छायाँचन्द्र निर्दोष रहेको प्रहरीहरु बताउँछन् ।

    छायाँचन्द्रसँग, आफू कार्यरत मिडिया हाउसबाट विरक्तिएको, उक्त प्रकाशनगृहबाट अलग हुन चाहेको र अलग्गै मिडिया चलाउने कुरा गर्ने गरेको स्वयं छायाँले प्रहरीलाई बताए ।

    खोलामा बग्नुभन्दा अघिल्लो साँझ अकस्मात् आफ्नो घरमा आइपुगेको र विहानको खाना खाएपछि घरबाट एक्लै निस्किएकोसम्मका घटनामा छायाँचन्द्रसँग प्रहरीले गत शनिवार छ घण्टा सोधपुछ गरेको हो ।

    तीनकुने, सुविधानगरमा धेरै वर्ष पहिलादेखि डेरा गरेर बस्ने पत्रकार बानियाँले केही महिनादेखि मूलपानीमा आफ्नै घर निर्माण गरिरहेका थिए ।

    त्यसक्रममा चैत ११ देखि कोरोना संक्रमणका कारण जारी भएको लकडाउनले उनलाई घर निर्माणस्थल आउन–जान समस्या पर्यो । किनभने, बलारामसँग आफ्नै सवारी साधन थिएन ।

    भाइ उमेरका साथी छायाँचन्द्रले लकडाउन अवधिभर १५–१६ पटक मूलपानी–तीनकुने ओहोर–दोहोर गराएको प्रहरीलाई बताएका छन् ।

    ‘१५–१६ वर्षदेखिको सम्बन्ध हो । उहाँसँग मेरो कुनै प्रकारको आर्थिक कारोबार वा लोभलालचको सम्बन्ध रहेन । उहाँ पनि अर्काको खाइहालौँ भन्नेखालको मान्छे हैन’, छायाँचन्द्रले प्रहरीलाई बताएका छन् ।

    बानियाँ घटना हुने दिन बिहानको खाना खाएपछि छायाँचन्द्रको नैकापस्थित घरबाट निस्किएर कलंकीतिर लागेको दृश्य बाबा पेट्रोलपम्पको सिसिटिभी फुटेजले कभर गरेको छ । उनले कलंकी पुगेर कांग्रेस नेता रामचन्द्र पौडेललगायतका मान्छेहरुसँग फोनमा कुरा गरेपछि बल्खुतिर लम्किएको उक्त फुटेजमा देखिन्छ ।

    बानियाँको निधन भवितव्य,योजनावद्ध वा आत्महत्यामध्ये कस्तो हो भन्ने कुरा ठम्याउनका लागि पत्रकार महासंघ लगायतका संघसंस्थाले सरकारलाई दबाब दिँदै आएका छन् । यसक्रममा प्रहरी गम्भीर अनुसन्धानमा जुटेको हो ।

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले बानियाँसँग व्यक्तिगत सम्बन्ध अत्यन्तै आत्मीयतापूर्ण रहेको बताएका छन् । घटनाअघि उनले कुनै प्रकारको असहमति वा असन्तुष्टि आफूसँग नराखेको प्रहरीलाई बताएका छन् ।

    ‘उहाँ खोलामा चिप्लिनुभएको हो वा नियतबस हाम्फाल्नुभएको हो भन्ने कुरा हामी बुझ्दैछौँ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘तर, कसैले धकेलेको वा हत्याको नियत साँचेको जस्ता कुरा अहिलेसम्म खुल्न आएको छैन ।’

    साभार: जनआस्था अनलाइन

    प्रतिक्रिया दिनुहोस