२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
अचाक्ली दाेहन

यसरी गरियाे लिखु नदीमा डोजर हालेरै उत्खनन्, हाेला त कारवाही ?

१२ सय घनमिटर बालुवा प्रहरी नियन्त्रणमा

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा र रामेछापको सीमानाको लिखु नदीमा डोजर हालेर ठेकेदारले अवैध उत्खनन् गरेका छन् ।सरकारले नदीजन्य पदार्थ उत्खनन रोक लगाएको समयमा डोजरले हालेर बालुवा चोरी निकासी गरेका हुन् ।

    सिंहदेवी निर्माण सेवाका राजन सुवेदीले एक वर्षदेखि लिखुको ओखलढुंगा र रामेछाप दुवैतर्फ उत्खनन तथा गिट्टी बालुवा निकासी गर्दै आएका थिए । उनी विरुद्ध लिखु गाउँपालिका र रामेछाप जिल्ला प्रशासन कार्यालयमा उजुरी परे पनि कारवाही नभएको सुन्दर घिमिरेले बताए ।

    ठेकेदारले वडा र गाउँपालिकाले कर तिर्न आग्रह गरे पनि आफ्नो जग्गा नदि किनारसम्म फैलिएको भन्दै नदिभित्रै डोजर हालेर उत्खनन् गर्दै आएका छन् । ठेकेदार सुवेदीले बालुवा गिट्टी निकासी गरेको कर तिर्न नमानेको लिखु गाउँपालिका २ का वडा अध्यक्ष रामहरि बुढाथोकीले बताए ।

    उनले भने, ‘नदिजन्य पदार्थ निकासी गर्दा कर तिर्न अनुरोध गर्यौं, वडालाई नटेरेपछि गाउँपालिकालाई जानकारी गराए पनि संभव भएन ।’ राजनीतिक पहुँचका आधारमा लिखु क्षेत्रमा प्राकृतिक स्रोतमाथि एकलौटी दोहन गर्दै आएका सुवेदी बिहीबार भने ओखलढुंगा प्रहरीको फन्दाका परे ।

    उजुरीका आधारमा प्रहरीले उत्खनन गरेकै स्थानबाट उनीसहितका कामदार, स्काभेटर, ट्रिफरसहित बालुवा नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको जनाएको छ । वडा अध्यक्षका अनुसार लिखु २ को दत्रुङ्गे भन्ने ठाउँमा उत्खनन गरिरहेको समयमा प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको थियो । सुवेदी तथा उत्खनन्मा संलग्नहरुलाई पहुँच र दवावकै आधारमा कारवाही नगरि छाडिएको छ ।

    उत्खनन् गरिएको बालुवा जफत गर्ने र थप गर्न नदिने गरि उत्मुक्ति दिइएको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार नेपाली काँग्रेसका नेता समेत रहेका सुवेदीले राजनीतिक पहुँचका आधारमा दुई वर्षदेखि लिखु किनाराका विभिन्न निर्माणका ठेक्का लिने र नदि दोहन गर्दै आएका थिए ।

    सरकारले असारदेखी असोजसम्म नदीजन्य पदार्थ उत्खनन र निकासीमा रोक लगाए पनि पहुँचका आधारमा सिंहदेवी निर्माण सेवाले वर्षादमा नदिमा स्काभेटर लगाएर उत्खनन् गर्दै आएको थियो । यसबारे एक्सन लिइ सकिएको र थप कारवाही हुने प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।

    नदीजन्य पदार्थ उत्खनन्बारे जिल्लाभर अध्ययन गरेर कारवाही गरिने स्थानीय प्रशासनले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका उनीहरुलाई गाउँपालिकाको रोहबरमा छोडिएको बताइएको छ । नियन्त्रणमा लिइएको बालुवा १ हजार २ सय घन मिटर रहेको वडा अध्यक्ष बुढाथोकीले जनाए । उनले वडा कार्यालय र सरोकारवाला पक्ष राखेर मुचुल्का खडा गरेर गाउँपालिकामा पेश गरिने जनाए ।

    त्यस्तै लिखुका अन्य स्थानमा पनि उत्खनन् र निकासी भइरहेको स्थानीयले बताए । लिखुका अधिकांश वडा नदिमा जोडिएकाले धेरै स्थानमा अबैध उत्खनन हुने र त्यहाँ जनप्रतिनिधीको संलग्नता रहेको स्थानीय बासिन्दाको आरोप छ । लिखुका वडा नं.३, ६ र ८ का नदिका किनारामा व्यापउक उत्खनन र अवैध निकासी हुने गरेको छ । त्यहाँका वडा अध्यक्षहरुको समेत संलग्नता रहने गरेको स्थानीयको आरोप छ । त्यस्तै, मोलुङ, सुनकोसी, दुधकोसी नदिमा पनि बालुवा उत्खनन् भइरहेको स्थानीय बासिन्दाको भनाइ छ ।

    भिडियो हेर्नुहाेस् 

    प्रतिक्रिया दिनुहोस