२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

राँगादिपकी पिन्तुमा मलेसियाको सुवाङ पार्कमा अलपत्र, कस्ले गर्ने उद्धार ?

  • २०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- मोलुङ गाउँपालिका ८, राँगादिपकी एक महिला वर्षौंदेखि मलेसियामा अलपत्र परेकी छन् । मानसिक सन्तुलन गुमाएकी उनी सडकमा अलपत्र छन् । उनको साथमा अन्दाजी सातवर्षको छोरा छ । मलेसियामा कार्यरत जिल्लावासीहरुले उनलाई उद्दार गरि नेपाल पठाउन खोजे पनि सकेका छैनन् ।

    ओखलढुंगा एकता सेवा समाज मलेसियाले उनलाई पठाउन खोजेपनि उनको साथमा रहेको बच्चाको जन्मदर्ता लगायतको कुनै प्रमाण नभएपछि इमिग्रेसनले अनुमति नदिएको मलेसियाबाट हिराबहादुर थापाले बताए । सपना राई नाम बताउने उनको अवस्था एकदमै दयनीय रहेको थापाले बताए । ‘यी महिलाको उद्दारमा नेपालबाट नेपाल सरकारले सहयोग गर्नुपर्‍यो’ थापाले भने, ‘कागजी प्रक्रियाका लागि नेपाल सरकारले सहयोग गरे यहाँबाट उनलाई पठाउन हामीले बाँकी बन्दोबस्त गर्छौं ।’

    ती महिला मोलुङ ८ कै विष्णुबहादुर राईकी कान्छी छोरी भएको वडाअध्यक्ष हरिकुमार राईले बताए । वडाअध्यक्ष राई अनुसार ती महिलालाई गाउँमा बोलाउने नाम पिन्तुमा हो । उनी १० वर्षअघि विदेशिएकी हुन् । उनको बुवाआमा दुवै बितिसकेका छन् । उनका दाजु समेत करिब एक दशक मलेसिया गएर हालै फर्किएका छन् । बिना कमाई फर्किएपछि दाजुको अवस्था समेत नाजुक छ । गाउँमा हुँदै दुई विवाह गरेकी उनी विदेश गएपछि सम्पर्क विहिन थिइन् ।

    चार वर्षदेखि सुवाङ पार्कमा अलपत्र

    आमा बच्चा अहिले मलेसियाको क्वालालम्पुरस्थित सुवाङ पार्कको छाप्रोमा ६ महिनादेखि बस्दै आएको बताइएको छ । दुवै जनाको कानूनी हैसियत छैन । मलेसियाको लागि नेपाली राजदूताबासका अनुसार लकडाउन अघि नै दूतावासले दिएको आश्रयस्थल छोडेर उनी हिँडेकी थिइन् ।

    ती महिलाले छोराको बाबु र नेपालको यकिन घर ठेगाना नबताउँदा स्वदेश पठाउने कागजात बनाउन नसकिएको  दुताबासकाे भनाइ छ । उनकाे उद्धार तथा उपचारकाे व्यवस्थापन कस्ले गर्ने, स्थानीय सरकारले भुमिका खेल्न जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस