इलाम – इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय एक युवकको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–९ का ती युवा भारतको हैदराबादबाट साउन २६ गते नेपाल आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।
स्वास्थ्यमा समस्या भए पछि आइतबार बिहान १० बजेदेखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोली उनको उपचारमा खटिएको थियो । राति ११ः ५ बजे उनको मृत्यु भएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिए ।
मृतक युवकको साउन २९ गते स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइए पनि रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन बिमल बरालले जानकारी दिए ।
फोकल पर्सन बरालका अनुसार ती युवामा छाती दुख्ने, ज्वरो आउने र श्वास फेर्न समस्या हुँदै आएको थियो । रिपोर्ट आएपछि शव उठाउने वडा अध्यक्ष लामाले बताए ।
प्रतिक्रिया दिनुहोस