२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

के गर्दैछन् पद जाेगाउन लालबाबु राउत ?

  • २०७७ श्रावण ३२, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- प्रदेश- २ मा मुख्यमन्त्री र मन्त्री मण्डलमा नयाँ अनुहार ल्याउने कि पुरानै राख्ने बहस सुरु भएको छ । जेठको पहिलो साता राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी पार्टी एकीकरण भएको थियो। त्यस पश्चात गठन भएको जनता समाजवादी पार्टी (जसपा)को प्रदेश सभाको संसदीय दलको नेता चुन्न लबिङ भइरहेको छ।

    पार्टी एकीकरणपछि प्रदेश-२ को मुख्यमन्त्री बनेर सरकारको नेतृत्व गर्न हालका मुख्यमन्त्री लालबाबु राउत,  भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल, आर्थिक विकास योजनामन्त्री विजयकुमार यादव, मनिष सुमन, रामअशिष यादवको नाम चर्चामा छ। मुख्यमन्त्री बन्न संसदीय दलको नेता बन्नुपर्छ।

    मुख्यमन्त्रीका लागि दलको नेता बन्न नेताहरुको दौडधुप छ। पार्टी अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई, डा. बाबुराम भट्टराईलाई भेट्नेको भीड बढेको छ।

    चार दिन पहिले पार्टीका १४ प्रदेशसभा सदस्यले मुख्यमन्त्री राउतको सरकार पूर्णरुपमा असफल भएको भन्दै पार्टी अध्यक्ष तथा वरिष्ठ नेतालाई भेटेर राउतको टिमलाई फिर्ता बोलाई  नयाँ अनुहारकालाई सरकारको नेतृत्वमा लानु पर्ने माग राखेका छन्।

    आफ्नो कुर्सी बचाउन मुख्यमन्त्रीसहित मन्त्री एक सातादेखि काठमाडौंमा बसेर पार्टी नेता कहाँ लबिङ गरिरहेका छन्। मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल, आर्थिक विकास योजनामन्त्री विजयकुमार यादव, समाजिक विकासमन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय आफ्नो पद बचाउन काठमाडौंमा बसेर छलफल गरिरहेका छन्।

    मुख्यन्त्री राउत फेरि संसदीय दलको नेता बनेर मुख्यमन्त्री पद जोगाउन आफ्ना निकट नेतासँग छलफलमा व्यस्त छन्। मन्त्री सोनल र यादव संसदीय दलको नेता बनेर मुख्यमन्त्री पद पड्काउने दाउमा छन्।

    केही प्रदेशसभा सदस्य लालबाबु राउतलाई नै संसदीय दलको नेता चुनेर हालका मुख्यमन्त्री लालबाबु राउत अगाडि सारेर सबै मन्त्री फेर्नु पर्ने पक्षमा छन्। यस पटक राउत कति सफल हुन्छन्, त्याे चाँही हेर्न पर्खनुकाे विकल्प छैन ।

    प्रतिक्रिया दिनुहोस