२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

गाउँपालिकाले किन राेक्याे लिखु जलविद्युत ३ र ४ का ढुवानी साधन ?

  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढु‌गा- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले लिखु जलविद्युत आयोजना ३ र ४ का मालवाहक ढुवानीका साधनहरुलाई अनिश्चितकालिक रोक लगाएको छ।
    गाउँपालिका अन्तर्गत सञ्चालित हलदेवेशीदेखि धोवी-ढाँडे-सिरिसे सडक स्थानीय तहले पटक पटक स्तरोन्नतीको गर्दै आएपनि हाइड्रोले सडकको क्षमताभन्दा बढीका सवारी साधन गुडाउँदा सडक जीर्ण बनेको भन्दै गाउँपालिका प्रवेशमा रोक लगाएको गाउँपालिका अध्यक्ष गोविन्द खड्काले जानकारी दिए।

    आइतबार स्वेत गंगा हाइड्रोपावर एन्ड कन्ट्रक्सन लिमिटेड (लिखु-३)र ग्रीन भेन्चर्स प्रालि (लिखु-४)लाई विगत ३ महिनादेखि उक्त सडक मार्ग जलविद्युतका सवारी साधनले सडक भत्किएको भन्दै गाउँपालिकाले एक पत्रमार्फत रोक लगाएको जानकारी दिएको हो।

    ‘लिखु हाइड्रोपावरले कानुन बमोजिम पनि प्रवेश नै गर्न नमिल्ने किसिमका सामान बोक्न १२ चक्केदेखि ४२ चक्केसम्मका ढुवानीका साधन ल्याउँदा साइड नपुगी एक्साभेटर प्रयोग गरी सडकको दायाँ बायाँ खन्ने, खोतल्ने कार्य गरी उक्त सडक मार्ग हाल आएर एम्बुलेन्स त के दुई पांग्रे सवारी साधन (मोटरसाइकल) समेत आवत जावत गर्न नमिल्ने गरी भत्किएकाले आपतकालीन समयमा सर्वसाधारण जनता समेत हिँडडुल गर्न नसकी आवागमन अवरुद्ध हुँदा यस लिखु तामाकोशी गाउँपालिका निवासी स्थानीय जनताका शान्ति सुरक्षा र सु-स्वास्थ्यमा गम्भीर असर परेकाले उक्त विषयलाई ध्यानमा राखी यस लिखु तामाकोशी गाउँपालिका स्थानीय तह/सरकारले पहिले गरेकै अवस्थामा स्तरोन्नति गरी २४ घण्टा सडक सञ्चालनमा ल्याई राख्न पटक पटक कार्यालयलाई अनुरोध र ताकेता गर्दा समेत वेवास्ता गरी गैरजिम्मेवार बनेको प्रवृतिप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’ अध्यक्ष खड्काद्वारा पठाइएको पत्रमा भनिएको छ।

    ‘यसरी हाइड्रोपावर सञ्चालन गरिरहँदा उक्त संस्था तथा कम्पनीले निभाउनु पर्ने सामाजिक उत्तरदायित्व निर्वाह गरी अन्य क्षेत्रको समेत समग्र सन्तुलित विकासमा टेवा पुयाउनु पर्नेमा सोको नजरअन्दाज गर्दै आएको र सो सम्बन्धमा छलफल र वार्तामार्फत समस्या समाधानका लागि पटक पटक यस कार्यालयमा उपस्थित हुन सूचना गर्दा समेत उपस्थित नभई गैरजिम्मेवारीपनको पनि पराकाष्ठा नाघेको हुँदा हाल आएर यस लिखु तामाकोशी गाउँपालिका बाध्य भई उक्त सडक मार्ग मर्मत सम्भार तथा स्तरोन्नति मार्फत पहिलेकै अवस्थामा यथाशीघ्र सुचारु गर्न गराउन नागदह बजार र धोवीबजार नाकामै ढांट राखी लिखु हाइड्रोपावरका दुवानी लगायतका सम्पूर्ण सवारी साधन आवागमनमा रोक लगाइएको (निषेध गरिएको) व्यहोरा जानकारीका लागि अनुरोध छ।’

    गाउँपालिका अध्यक्ष खड्काले पत्रको अवज्ञा गरी बलजफ्ती सवारी साधन सञ्चालनमा ल्याएमा सो कार्यबाट प्राप्त हुने परिणामको जिम्मेवारी सम्बन्धित व्यक्ति र पक्षले लिनु पर्ने बताएका छन्। उनले आवश्यक समन्वय र सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापसमेत अनुरोध गरेका छन्।

    निर्माणाधिन लिखु–३ र लिखु–४ हाइड्रोपावरले अति प्रभावित स्थानीयबासीले पाउनु पर्ने सेवा सुविधा पनि नदिएको स्थानीयको गुनासो रहेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को रिपोर्टमा उल्लेख भए बमोजिम सामुदायिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रका नागरिकप्रति निर्वाह गर्नुपर्ने उत्तरदायित्व पूरा हुन नसकेको स्थानीयलेगुनासो गरेका छन्।

    लिखु -३ जलविद्युतबाट २८.१ मेगावाट  र लिखु ४ जलविद्युत आयोजनाबाट ५२ दशमलव ४ मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको अन्नपूर्ण अनलाइनले लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस