२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

रंगशाला निर्माणमा गुणस्तरहीन सामग्री

Thumbnail
  • २०७७ श्रावण २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • सिन्धुली- दुधौली नगरपालिका–९, भोरागाँछीमा निर्माणाधीन रंगशालामा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको पाइएको छ। बाग्मती प्रदेश सरकारको ६ करोड ९४ लाख ९२ हजार चार सय ७४ रुपैयाँ लागतमा उक्त रंगशाला निर्माण थालिएको हो।

    निर्माण कम्पनी पाइनस कन्स्ट्रक्सनले रंगशालाको स्टेडियम, भवन, अतिथिगृह र गार्ड हाउस निर्माणमा गुणस्तरहीन सिमेन्ट, इँटा, गिट्टी, बालुवा लगायतका सामग्री प्रयोग गरेको जानकारी उक्त वडाका अध्यक्ष रामकुमार अधिकारी दनुवारले दिए।

    ‘नगरपालिकाले पटकपटक गुणस्तरयुक्त सिमेन्ट, इँटा र बालुवा प्रयोग गर्न आग्रह गर्दा पनि निर्माण कम्पनीले अटेर गरेर काम जारी राखेको छ’, उनले भने।

    रंगशाला निर्माणमा लापरबाही गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी परेको छ। तर, उजुरी गर्दासमेत कम्पनीले अटेर गरेको दनुवारको भनाइ छ। निर्माण कम्पनीले एक सय २० स्क्वायर फिट लामो स्टेडियम निर्माण गर्दैछ। निर्माणमा एक नम्बरको इँटा प्रयोग गर्ने, ओपीसी सिमेन्ट र चालिएको बालुवा प्रयोग गर्ने सम्झौतामा उल्लेख छ।

    तर, ३ नम्बरको कामै नलाग्ने इँटा, गुणस्तर कमजोर भएको सिमेन्ट र चाल्दै नचालिएको माटो मिसिएको बालुवा प्रयोग गरेपछि सिन्धुलीका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसहितको अनुगमन टोलीले लगाइएको पर्खालसमेत भत्काएका थिए।

    प्रतिक्रिया दिनुहोस