२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

कारागारमै फैलियाे काेराेना

  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • नेपालगन्ज- बाँके कारागारका बन्दीमा पनि कोरोना भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार आइतबार रेन्डम सेम्पलिङ विधिबाट स्वाब संकलन गरिएका स्वाब परीक्षण गर्दा सात जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको हो।

    कारागार परिसरमै स्वाब संकलन गरिएका वडा प्रहरी कार्यालय नेपालगन्जका ६ जना प्रहरीमा पनि कोरोना पुष्टि भएको छ। कारागारका जेलर देवेन्द्र श्रेष्ठका अनुसार २१ जना बन्दीको स्वाबको नमूना संकलन गरिएको थियो। जेलर श्रेष्ठले भने, ‘सबै जनाको स्वाब संकलन गर्न सम्भव थिएन।

    ‘रेन्डमली सबै कोठामा बसेकाहरुको परीक्षण गर्दा सात जनामा कोरोना देखिएको खबर आएको छ।’ लकडाउन सुरु भए यता कारागार प्रशासनले भेटघाट बन्द गरेको जनाएको छ। ‘बाहिरबाट आउने भने खाद्यान्न र तरकारी मात्र हो। कसरी कोरोना सर्‍यो हामी नै चकित छौं’, जेलर श्रेष्ठले भने।

    दुई सय ५० जनाको क्षमता रहेको कारागारमा ४७ महिलासहित सात सय ९० जना कैदी बन्दी राखिएको छ।

    -अन्नपूर्ण पाेस्टबाट

    प्रतिक्रिया दिनुहोस