२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

केरुङमा चीनकाे नाकाबन्दी !

  • २०७७ श्रावण १८, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- २०७२ मा भारतले लगाएको नाकाबन्दीको झल्को यतिबेला चिनियाँ नाकामा देखिएको छ । विगतमा चीनको केरुङ नाकामा नेपालतर्फ आउन लागेका कन्टेनरहरुको लस्कर हुन्थ्यो । तर यतिबेला नाकाबाट दैनिक ४ वटा कन्टेनर मात्रै नेपाल भित्रिने गरेका छन् । त्यसमाथि पनि अधिकांश ट्रकहरु स्याउ लगायत दैनिक उपभोग्य वस्तु मात्रै छन् ।

    करिब ५ महिनादेखि ठप्प भएको उक्त नाका गत असार २२ गतेदेखि निरन्तरको सञ्चालनमा आएको थियो । तर, नाका सञ्चालनमा आएदेखि नै दैनिक ४ वटा भन्दा बढी कन्टेनर चिनियाँ पक्षले छोडेको छैन ।

    सामान्य अवस्थामै दैनिक औसत ३० वटा कन्टेनर प्रवेश गर्ने गरेकोमा अहिले सयौं कन्टेनर सामान नाकामा रोकिएको छ । तर आभरफ्लो व्यवस्थापन गर्नुको सट्टा चिनियाँ पक्षले साधारण अवस्थामा एक दिनमा आउने गाडी नेपाल भित्रनै १ साता लाग्ने अवस्था सिर्जना गरिदिएको छ ।

    किन गर्दैछ चिनियाँ पक्षले अवरोध ?

    चिनियाँ पक्षले कोरोना भाइरस संक्रमणको जोखिम र कामदारको अभावको कारण देखाएर निकै कम मात्रै ट्रक छोड्ने गरेको हो । धेरै आवतजावत गर्दा रोग सर्नसक्ने भन्दै नाकापारिका स्थानीयले अवरोध गरेको र त्यसलाई चिनियाँ भन्सार प्रशासन, स्थानीय सरकार र तिब्बत सरकारले समेत साथ दिएको बताइएको छ ।

    अहिले नेपाली पक्षले भन्सार कार्यालयदेखि परराष्ट्र मन्त्रालय तहसम्म पनि छलफल गरिसकेको छ । तर अहिलेसम्म कुनै उपलब्धि भएको छैन ।

    चीनतर्फ सामान लोड अनलोड गर्ने कामदारको अभाव भएको जानकारीसँगै स्वास्थ्य मापदण्ड पालना गरेर १४ दिन क्वारेन्टिनमा बसेका ३० जना नेपालीलाई आउने अनुमति दिन नेपाली पक्षले आग्रह गरेको थियो । तर यो प्रस्तावलाई पनि उनीहरुले मानेनन् ।

    ‘हामीले ३० जनालाई प्रवेश गर्ने अनुमति दिन भन्यौं, अझै संख्या घटाउन लेवरको समेत काम गर्नसक्ने ड्राइभरलाई पठाएर १५ जनाले व्यवस्थापन गर्नेगरी तयारी गर्यौं । तर उहाँहरुले हाम्रो कुनै कुरा सुन्न चाहनुभएन ।

    अहिले त छिमेकीदेखि थाकेको अवस्था छु,’ रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले भने । खड्काले ४ वटा ट्रकमात्रै छाड्नुको कुन‌ै अर्थ नभएको भन्दै यसो गर्नुभन्दा वरु नाका नै ठप्प गरिदिए राम्रो हुने समेत बताए ।

    साभार: राताे पाटी

    प्रतिक्रिया दिनुहोस