२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

एक महिनासम्म रिपोर्ट नआएपछि ७० जना क्वारेन्टाइनबाटै भागे

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • सल्यान-  बनगाड कुपिण्डे नगरपालिकाको एक क्वारेन्टाइनबाट ७० जना भागेका छन् । क्वारेन्टाइनमा बसेको महिना दिन पुगिसक्दा पनि पिसिआर रिर्पोट नआएको भन्दै उनीहरु क्वारेन्टाइनबाट भागेका हुन् ।

    बनगाड कुपिण्डे नगरपालिका–३ स्थीत आधारभुत विद्यालय लहाघाटमा बसेका ७३ जनामध्ये ७० जना भागेर घर गएका हुन् । उनीहरुले प्रहरीलाई ढुंगामुढा गरेर त्यहाँबाट भागेको नगरपालिकाका मेयर गोविन्द कुमार पुनले जानकारी दिनुभयो । उनीहरु जेठ १९ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेको १७ दिनपछि श्वाब संकलन गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । पहिले आरडिटि गरेर पोजेटिभ देखिएकाको पिसिआर परीक्षणका लागि श्वाब संकलन गरिएको थियो ।

    तर एक महिनासम्म आफूहरु क्वारेन्टाइनमै बस्नु परेको र रिर्पोट नआएको भन्दै उनीहरु क्वारेन्टाइनबाट भागेका हुन् । मेयर पुनले सुर्खेत पठाएको श्वाब त्यहाँ मेसिन बिग्रीएपछि नेपालगञ्ज पठाइएको र नेपालगञ्जले पनि आजभोली भन्दै टारेकाले समस्या भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले एउटा गतिलो पिसिआर व्यवस्थापन गर्न नसक्दा आफूहरुले कोरोना रोकथाममा सास्ती खेप्नु परेको बताउनुभयो । ‘प्रदेश सरकारले यसबारे ध्यान दिएको छैन’, उहाँले भन्नुभयो, ‘आफूहरुले क्वारेन्टाइनमा बसेकाको व्यवस्थापनमा रातदिन खटिदा पनि गालि खानुपरेको छ ।’

    बनगाड कुपिण्डे नगरपालिकामा मात्रै यस अवधिमा भारतबाट आएका झण्डै २५ सय नागरिकको क्वारेन्टाइनमा व्यवस्थापन गरिएको थियो । तर अहिले क्वारेन्टाइनमा एक सयको हाराहारिमा मात्रै मानिसहरु थिए । @janatasamachar

    प्रतिक्रिया दिनुहोस