२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

कवि वासु गाैतमकाे कविता: ‘हामी सच्चिनु पर्छ’

  • २०७७ अषाढ १८, बिहिबार मा प्रकाशित ३ साल अघि
  •          ‘हामी सच्चिनु पर्छ’

    हामी सुन्दर सिर्जना अवनिका ज्ञानी विवेकी पनि
    एक्लो चेतनशील जीव तर छौं सन्ताप भोग्दै अति !
    भुल्दा भौतिक मोहमा हरघडी आक्रान्त अन्योल छौं
    साह्रै दिक्क अशान्त चिन्तित हुँदा हाँसो शनै बिर्सियौं !! १ !!

    मात्रै यन्त्रिक दौडमा मन दियौं सौहार्द्य भुल्दै गयौं
    लाग्यौं कङ्क्रिट होडमा तर अहो! संवेदना बिर्सियौं !
    ठान्यौं किन्न सकिन्न के र धनले? हामी यहाँ झुक्कियौं
    छाडी सात्विक जिन्दगी तमसको उन्मादमा लठ्ठियौं !! २ !!

    जोड्यौं बारुद शान्ति डग्न नदिने आदर्शको आडमा
    खोज्यौं मानवता सगर्व रणको बेदर्द मैदानमा !
    सोच्यौं दैहिक मोजमात्र सुखको निर्वाध आधार हो
    जोख्यौं कुत्सित स्वार्थको नजरले आत्मीयता प्रेमको !! ३ !!

    नाप्यौं इज्जत सोच हैन धनको आयामको फ्रेममा
    सेवा भाव रहेन हार्दिक अहो! साट्यौं सबै स्वार्थमा !
    हुर्क्यो बेथिति सख्त जब्बर बनी संस्कार मास्दै सबै
    झस्क्यो मानव सभ्यता विगतका गल्तीहरू सम्झदै !! ४ !!

    लाग्यो प्राज्ञिक बर्ग चिन्तित हुँदै आदर्श जोगाउन
    धेरै मानिस एकासाथ धुरिए बुद्धत्व फर्काउन !
    मात्रै बाहिर खोजियो जटिलता उस्तै समाधान भो
    आशामा बसियो अलौकिक कुनै ठूलो चमत्कारको !! ५ !!

    हाम्रै कारण निम्तियो विषमता यो सत्य मानौं सधैं
    आफूभित्र नियाल्न हिम्मत गरे सम्हाल्न सक्छौं सबै !
    हामीभित्र छ बुद्ध अंश यसको सक्दो जगेर्ना गरौँ
    आफू सच्चिन चुक्नु हुन्न दुनियाँ सच्चिन्छ आफैं बुझौं !! ६ !!

    (शार्दुलविक्रिडित छन्दमा रचिएकाे कविता गाैतमकाे फेसवुकवालबाट साभार गरिएकाे हाे ।)

    प्रतिक्रिया दिनुहोस