२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

किन लगाइयाे बिहिबार विहानैबाट राजविराजमा निषेधाज्ञा ?

  • २०७७ श्रावण ८, बिहिबार मा प्रकाशित ३ साल अघि
  • राजविराज : सप्तरीको राजविराजमा समुदायमा कोरोना संक्रमण फैलिएपछि जिल्ला सुरक्षा समिति सप्तरीले निषेधाज्ञा लागू गर्ने भएको छ।

    प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समिति सप्तरीको बैठकले बिहीबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता एवम् प्रशासकीय अधिकृत आनन्द ठाकुरले जानकारी दिए।

    प्रवक्ता ठाकुरले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसमान ओसार पसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलीयम पदार्थको ढुवानी भण्डार र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाबाहेकको सेवा/स्थलहरुमा अनावश्यक आवतजावतमा निषेधाज्ञा लगाइएको बताए।

    ठाकुरका अनुसार उपरोक्त अत्यावश्यक कामहरु समेत तोकिए बमोजिमको स्वास्थ्य सुरक्षा सतर्कताको मापदण्डको पूर्ण पालना गरी गर्न, गराउन निषेधाज्ञा जारी गरिएको बताउँदै उनले आदेशको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारवाही गरिने छ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) मा हुलदङ्गा भई शान्ति सुरक्षा भंग हुने वा कसैलाई बाधा विरोध पर्ने वा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावना भएमा प्रमुख जिल्ला अधिकारीले कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्ने वा सो ठाउँमा कुनै काम गर्न निषेध गर्ने आदेश दिन सक्नेछ र सो आदेश एक पटकमा दुई महीनाभन्दा बढी अवधिको हुनेछैन भन्ने उल्लेख छ। यस्तो आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रूपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने ऐनमा व्यवस्था छ।

    यस्तै संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कारवाही गर्न सक्ने र सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने विशेष व्यवस्थाको अधिकार दिएको छ।

    प्रतिक्रिया दिनुहोस