२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

कहाँ पुग्याे यज्ञराजकाे खरकाे छानामुक्त ओखलढुंगा बनाउने अभियान, अब कतिले पाउँछन् अनुदान ?

  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- तीन वर्ष पहिले सांसद यज्ञराज सुनुवारले आगलागीबाट बर्षेनि घर जलेका र राहत दिनु पर्ने, पीडित परिवारकाे समस्या देखेपछि घरलाई सुरक्षित बनाउने उपाय छलफल गरे ।

    उनलाई सामान्यत: जलेका सबै घर खरकाे छाना भएकाले त्यस्ता छानाकाे विकल्प दिनु पर्ने सुझाव सहि लाग्याे र उनले भने ‘अब जिल्लालाई खरकाे छानामुक्त बनाउनु पर्छ ।’

    गाउँघरमा धेरैजसाे गरिबले घर बनाएर जस्ताकाे छाना हाल्न नसकेर खरकाे छाना छाएका छन् । हावाहुरीले उडाउने र आगाकाे झिल्काेले सहजै टिप्ने र बल्ने भएकाले आगलागीमा तिनिहरुकै घरमा क्षति पुगिरहेका छन् । अहिले सरकारले सुनुवारकाे खरकाे छानामुक्त बनाउने मुद्दालाई बजेट मार्फत कार्यन्वयन शुरु गरेकाे छ ।

    गत आर्थिक वर्षबाट जिल्लाका आठै स्थानीय तहमा खरकाे छाना मुक्त बनाउने कार्यक्रम शुरु भएकाे थियाे ।  गत वर्ष हरेक तहमा ४० घरधुरीलाई जस्ताकाे छानाका लागि अनुदान दिइएकाे थियाे भने अहिले जिल्लाभर १३४३ घरधुरीमा कार्यक्रम छ ।

    शहरी विकास तथा भवन निर्माण विभागकाे सुरक्षित नागरिक आवाश कार्यक्रम अन्तर्गत शुरु गरिएकाे हाे । उक्त कार्यक्रमले सांसद सुनुवारलाई पत्र लेखेर ओखलढुंगामा १३४३ घरधुरीमा चालु वर्षमा बजेट उपलब्ध गराउने जनाएकाे छ ।

    कुन तहमा कति घर खरमुक्त हुन्छन् ?

    ओखलढुंगाका आठ स्थानीय तहमा चालु वर्षका लागि काेटा तय भएकाे छ । जस अनुसार सिद्धिचरण नगरपालिकामा २६९, खिजिदेम्वा गाउँपालिकामा ९४, चम्पादेवीमा २०८, चिशंखुगढीमा ६५, मानेभञ्ज्याङमा २९१, माेलुङमा १४७,  लिखुमा १४४ र सुनकाेसीमा ११५ घरधुरीकाे छाना फेरिने छ ।

    यसका लागि स्थानीय तहले ताेकिएकाे मापदण्ड अनुसार त्यस्ता परिवार छनाैट गरेर पेश गर्नु पर्नेछ । यसरी छनाैट भएका घरधुरीलाई गाउँपालिकाले छाना फेर्न ५० हजार अनुदान दिने गरि सहरी विकास विभागले अनुदान दिने व्यवस्था रहेकाे सा‌ंसद यज्ञराज सुनुवारले बताए । कतिपय तहमा न्यून संख्या मात्रै काेटा निर्धारण भएकाे भन्दै गुनासाे समेत आएकाे छ ।

    यस विषयमा सुनुवारले शहरी विकास मन्त्रालयमा कतिपय तह र जिल्लामा त्यस्ता खरका छाना नभएकाले ती काेटा ओखलढुंगामा थप उपलब्ध गराइने गरि पहल भइरहेकाे जानकारी गराए । सरकारले याे वर्ष देशभरका १ लाख ५० हजार घरलाई खरकाे छानामुक्त बनाउने गरि बजेट व्यवस्था गरेकाे छ ।

    ओखलढुंगामा सिद्धिचरण नपा र चिशंखुगढी गाउँपालिकाले अति गरिबका लागि नीति तथा कार्यक्रममा नै याे विषय समेटेका थिए । अन्य तहले पनि याे अभ्यास थालेकाे बताइएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस