२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काेराेना स‌ंक्रमितलाई घरै राखेर किन गरियाे गाउँ नै शिल ?

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- लिखु गाउँपालिकाका ७२ वर्षीय क्यान्सरपीडित वृद्धलाई कोरोना संक्रमण भएपछि गाउँ नै शिल गरिएको छ । क्यान्सरको उपचार समेत असंभव बन्दै गएको अवस्थामा गएको असार २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई अस्पतालले घर फर्काएपछि लिखु गाउँपालिका वडा नं २ स्थित कुवापानीको विशंखे टोलमा रहेका १७ घरधुरी शिल गरिएको हो ।
    क्यान्सरका कारण अवस्था चिन्ताजनक भएपछि काठमाडौँबाट उपचार गराएर ती जेष्ठ नागरिकलाई गाउँ फर्किएको थियो । काठमाडौँमै रहँदा स्बाव दिएका उनी गाउँ फर्किसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । ‘संक्रमण पुष्टि भइसकेपछि संक्रमित वृद्धको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा गाउँका अरुले पनि उनीसँग भेटघाट गरेको पाइयो’ प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले भने, ‘त्यसैले गाउँलाई नै क्वारेन्टाइन बनाएर शिल गरिएको छ ।’
    प्रजिअ पौडेलका अनुसार बृद्धको संक्रमण पुष्टि भएपछि उनको गाउँमा आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ । गाउँमा नेपाल प्रहरी र लिखु गाउँपालिकाका नगर प्रहरीले सुरक्षा दिइरहेका छन् । सिल गरिएको विशंखेटोलभित्र करिब १ सय जना रहेको लिखु गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामहरि बुढाथोकीले जानकारी दिए । यस्तै लिखु गाउँपालिकाले सिल गरिएको गाउँमा राहत वितरण गरेको छ । गाउँपालिकाका स्वास्थ्य संयोजक दिनानाथ चौधरीले दिएको जानकारी अनुसार ३० केजीका दरले एक बोरा चामल, दाल, तेल, नुन, चिनलगायतका खाद्यसामग्री वितरण गरिएको छ ।

    संक्रमितलाई गाउँमै किन राखियो ?
    अवस्था चिन्ताजनक भएको भनिएका क्यान्सरपीडित वृद्धलाई कोरोना संक्रमण भएपछि कमाण्ड पोष्टले गाउँमै राख्ने निर्णय गरेको थियो । उनलाई परिवारले अवस्था चिन्ताजनक भएको भन्दै गाउँ फर्काएका थिए ।
    वृद्ध संक्रमितको पुनः पीसीआर परीक्षण गर्ने र फेरि कोरोना पोजेटिभ आएमा थप उपचारका लागि सोचिने प्रजिअ पौडेलको भनाइ छ । अस्पतालबाट घर ल्याइएका विरामीलाई पुनः अस्पताल पठाउन समस्या रहेकाले उनलाई घरैमा रेखेदख गरिएको बताइएको छ ।
    सिल गरिएको क्षेत्रमा पीसीआर गर्ने तयारी गरिएको छ । सो क्षेत्रका संभावित जोखिममा रहेका सबैको पीसीआर गरिने प्रजिअ पौडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस