२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

चितुवा पीडितलाई राहत, बाँदर र कुकुर पीडितले नपाउने ?

  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- चितुवाबाट पीडित ओखलढुंगाका १६ जना किसानले एक वर्षपछि राहत पाएका छन् । चितुवाले घरपालुवा जनावरलाई पुर्याएको क्षति वापतकाे रकम मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालय संखुवासभाले उपलब्ध गराएकाे छ ।

    गत वर्ष १६ जना किसानका खसी बाख्रा मार्नुका साथै पाँच जना मान्छेलाई घाइते बनाएको थियो । उनीहरुलाई निकुञ्जले उपलब्ध गराएको रकम डिभिजन वन कार्यालय ओखलढुंगाले वितरण गरेको हो ।

    वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (तेस्रो संशोधन २०७५) को दफा ६ बमोजिम क्षतिको प्रकृति हेरी राहत समितिको सिफारिशको आधारमा क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था छ । ओखलढुंगा मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालय संखुवासभा अन्तर्गत पर्ने भएकाले राहत उपलब्ध गराउन ढिलाइ भएको कार्यालयले जनाएको छ ।

    मकालु वरुण राष्ट्रिय निकुञ्ज कार्यालयबाट प्राप्त २ लाख ९३ हजार १ सय ६४ रुपैयाँ राहत किसानलाई उपलब्ध गराएको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । वन्यजन्तुपीडित किसानले २ हजार ७ सय ५९ देखि ७५ हजार रुपैयाँसम्म राहत पाएका छन् ।
    राहत पाउने किसानहरू १५ जना चम्पादेवीको पलापुका रहेका छन् । जहाँ गएको साउनमा चितुवाले आतंक मच्चाएर दर्जनौँ खसीबोका मारेको थियो । अर्का एक किसान भने मानेभञ्ज्याङ गाउँपालिकाका रहेका छन् । उनका पनि चितुवाले बाख्रा खाएको थियो ।

    कुकुर र वाँदर पीडितले पाएनन्

    यस्तै सिद्धिचरण नगरपालिकामा एक दर्जन किसानका खसी बाख्रा जंगली कुकुरले मारेको थियो । ती किसानले भने राहत पाएका छैनन् । ‘एक जनाको १० ओटासम्म मारेको थियो’ सिद्धिचरणका मेयर मोहन श्रेष्ठले भने, ‘उनीहरुलाई नगरपालिकाले कसरी सम्बोधन गर्ने भनेर छलफल गरिरहेको छ ।’

    ऐनमा जंगली कुकुर तथा वाँदरको क्षतिबारे उल्लेख नभएकाले किसानले राहत पाउन नसकेको डिभिजन वन अधिकृत श्रेष्ठको भनाइ छ । कुकुर पीडित किसानले भने क्षतिपूर्ति माग गर्दै आए पनि सुनुवाइ भएको छैन ।

    त्यस्तै बाँदरले अन्नबाली क्षति गरेको धेरै उजुरी आए पनि पीडित किसानको गुनासो सम्बोधन नभएको राष्ट्रिय कृषक समुह महासंघका जिल्ला अध्यक्ष हेमकुमार घिमिरेले बताए । उनले स्थानीय सरकार यस्ता सवालमा संवेदनशील हुनुपर्नेमा जोड दिए ।

    प्रतिक्रिया दिनुहोस