२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

लकडाउनमा पर्यटन र हवाई क्षेत्रमा ३४ अर्बको क्षति

Thumbnail
  • २०७७ अषाढ २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डौ- लकडाउनकाे कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो ।

    सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ । सरकारले केही सेवा क्षेत्र खुला गरे पनि लकडाउनको अवधि साउन ७ गतेसम्म बढाएपछि अझै सात अर्बको नोक्सानी बढ्न सक्ने अनुमान गरिएको छ ।

    पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको जनाएको छ । लकडाउनको अवधिमा मन्त्रालयबाट भएका कार्यप्रगतिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार होटलका लागि भ्याट दाखिला गर्ने समय दुई महिनाबाट बढाएर चार महिना पुर्‍याइएको छ ।

    मन्त्रालयले हवाई जहाज पार्किङ शुल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस गरेको छ ।

    लकडाउनको अवधिमा विभिन्न विमानस्थलमा सन्तोषजनक कार्यप्रगति भएको मन्त्रालयले जनाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ९१ प्रतिशत काम भएको छ ।

    यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लकडाउनको अवधिमा ९ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ५९ प्रतिशत प्रगति भएको बताएको छ । त्रिभुवन विमानस्थलमा एप्रोन निर्माण, धावनमार्ग र रनवे निर्माण, टर्मिनल भवन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । निजगढ विमानस्थल निर्माण क्षेत्रभित्रका रुख बुट्यानहरुको छपानका लागि रुख बिरुवा गणनाको काम सुरु भएको छ ।

    मन्त्रालयले ४१ किलोमिटर पदमार्ग, विभिन्न क्षेत्रमा फुटपाथ निर्माण, भ्यु टावर निर्माण सम्पन्न गरेको छ । यस्तै एकीकृत विद्युतीय सञ्जालसम्बन्धी एप्लिकेसन निर्माणको काम पनि सकिएको छ ।

    मध्यपूर्व र युरोपलगायत विभिन्न १७ देशबाट मार्च २४ बाट ३० सम्म नेपाल वायु सेवा निगमलगायतका अन्य वायु सेवाहरुबाट दुई सय १४ उडानमार्फत १६ हजार ६ सय ७२ नेपालीलाई उद्धार गरिएको छ । नेपालमा अलपत्र परेका १२ हजार चार सय आठ जना विदेश प्रस्थान गरेका छन् । -उज्यालाे अनलाइनबाट

    प्रतिक्रिया दिनुहोस