२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

एमाले नयाँ दल दर्ता प्रस्ताव: नेकपा फुटकाे संघारमा, बालुवाटारमा खैलाबैला !

  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल कसको निर्देशनमा निवेदन दर्ता भयो ? बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले मं‌गलबारको बैठक प्रभावित भयो ।

    बालुवाटारमा जारी बैठकमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीकै निर्देशनमा नेकपा एमाले ब्युँताउने निवेदन दर्ता भएको बैठकमा बताए ।

    एक स्थायी कमिटी सदस्यका अनुसार गौतमले प्रधानमन्त्रीकै निर्देशनमा एमाले ब्युँताउन खोजिएको ठोकुवा गरेका थिए ।

    बैठकमा गौतमको भनाइ थियो, एमालेको नाममा दल दर्ता गर्नेमा प्रधानमन्त्री कमरेडको निर्देशन छ । यसमा म विश्वस्त छु र अहिले यस्तो काम गर्ने बेला होइन । अहिले पार्टीलाई पद्दतिसम्मत र सरकारलाई लोकप्रिय बनाउने हो । यी दुवै काममा प्रधानमन्त्री चुक्नुभयो ।

    बैठकमा अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्रीनिकट कानुन व्यवसायीले नेकपा एमाले ब्युँताउने निवेदन तयार पारेको सूचना आफूले पाएको बताएका थिए ।

    बैठक चलिरहेका बेला एमाले दल दर्ताको निवेदन कसको निर्देशनमा निर्वाचन आयोगमा गएको हो भनेर प्रचण्डले नै सुरुमा प्रश्न गरेका थिए ।

    प्रधानमन्त्री ओलीले भने दल दर्ताको निवेदनबारे आफूलाई कुनै जानकारी नरहेको भन्दै आफू नेकपाको अध्यक्ष रहेको बताएका थिए । ‘गोपाल किराँतीको नाममा पनि माओवादी केन्द्र दर्ता छ, मैले केही भनेको छु र ? प्रचण्डतिर संकेत गर्दै ओलीले बैठकमा जवाफ दिए ।

    झापाकी सन्ध्या तिवारीले नेकपा एमाले दर्ताको निवेदन लिएर निर्वाचन आयोगमा गएको आयोगले पुष्टि गरेको छ । नेकपा नेताहरूले यसलाई गम्भीर रूपमा लिएका छन्  अनलाइन खबर डटकममा खबर छ ।

    नेकपा एमालेकाे अध्यक्षकाे नाम सन्ध्या तिवारी र ठेगाना झापा लेखिएकाे छ । यही प्रकरणले नेकपा स्थायी कमिटी बैठक विषयान्तर भएकाे हाे । ओलीले मदन जयन्तीमा आफुलाई हटाउन खाेजेकाे भन्नु, आज नेकपा एमाले दल दर्ता  हुनु र दर्ता गर्ने व्यक्ति झापाकाे हुनुले ओलिकै निर्देशनमा रचिएकाे नयाँ प्राेपाेगान्डा भएकाे प्रचण्ड निकट नेताहरुकाे विष्लेषण छ ।  ओलिमाथि केही समयअघि मधेशी दल र अहिले आफ्नै दल फुटाउन खाेजेकाे प्रचण्ड पक्षका नेताहरुकाे आराेप छ ।

    प्रतिक्रिया दिनुहोस