२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

मन्त्रीकै असहमतिबीच निजामती विधेयक पारित

  • २०७७ अषाढ १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- संघीय निजामती विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको असहमतिबीच पारित भएको छ ।  निजामती विधेयक सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको असहमतिबीच संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा पारित भएको हो ।

    सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति शशी श्रेष्ठले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो । सभापति श्रेष्ठले असहमत सांसदहरुलाई फरक मत लेख्न सक्ने बताउनुभयो । ‘माननीय सदस्यहरुलाई भने सरकारको संलग्नता उहाँ नै सचिव, वहाँ नै मन्त्री हुनु भएन’ श्रेष्ठले भन्नुभयो, ‘उहाँहरु नै सहसचिव हुनु भएन तर सरकार भनेको त निरन्तरता हो नि त । बाँकी कुरा मिलाउने कुरा भयो । यो पारित भयो ।’

    विधेयकमा प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवा अन्तर्गत हुने र प्रदेश प्रमुख सचिव संघीय सरकारको निजामति सेवा अन्तर्गत रहने व्यवस्था गरिएको छ । प्रदेश निजामती सेवा तयार नहुँदा सम्म प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघीय सरकारले मूख्यमन्त्रीको कार्यालयमार्फत पठाउने छ । त्यस्तै प्रदेश र स्थानीय तहका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्दा मन्त्रालयका सचिव संयोजक, सम्बन्धित पुनरावलोकन कर्ता सदस्य र सम्बन्धित सुपरीवेक्षक सदस्य रहने व्यवस्था सहित विधेयकको प्रतिवेदन तयार भएको सभापति श्रेष्ठले बताउनुभयो ।

    विधेयकमा मन्त्री त्रिपाठीले समायोजनमा पठाइएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा तान्नुपर्ने, अवकाशको व्यवस्था, समावेशी र प्रदेश सचिवको विषयमा विधेयकको प्रतिवेदनमा गरिएको व्यवस्थामा आफ्नो असहमति रहेको बताउनुभएको थियो । उहाँले यी विषयमा फेरि छलफल नभए मन्त्रालयले फरक मत राख्ने स्पस्ट पार्नुभयो ।

    प्रतिक्रिया दिनुहोस