२०७७ मंसिर १७, बुधबार | Wed, 02, Dec, 2020

नेपालमा प्रचलित केही प्रथाहरू

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ५ महिना अघि
  • १. देउकी प्रथाः

          देउकी प्रथा खासगरी नेपालको सूदुर पश्चिमको सेती र महाकाली अञ्चलमा चलेको प्रथा हो । करिब ३०० बर्ष पहिले चलेको यो प्रथाको केन्द्र बैतडी जिल्लको मेनौली देवीको मन्दिर रहेको छ । कसैलाई महारोग लागेमा‚ छोरा नभएमा‚ मुद्दा जित्ने भाकाल गर्न‚ आफ्नो मनोकामना पुरा गर्न आफ्नो छोरी देवीलाई चढाउने प्रथा हो । देउकीहरुको जिविकोपार्जनको स्रोत मन्दिरमा चढाएको भेटी तथा सामाग्री हो तर यसले मात्र जीवन धान्न नसक्दा देउकीहरु देहब्यापार गर्न पनि बाध्य भएका छन् ।

    २. झारा प्रथाः

          झार प्रथा राज्य‚ भूमिपति तथा सरकारी कर्मचारीहरुले पारिश्रमिक नै नलिई लिने सेवा वा काम हो । प्राचिन कालदेखी नै प्रचलनमा आएको यस प्रथाले मध्यकाल र आधुनिक कालमा समेत व्यापकता लिएको देखिन्छ । व्यक्तिगत कामको लागि लिईने र सरकारी कामका लागी लिईने गरी झारा प्रथा दुई किसिमको रहेको छ । प्रजातन्त्र स्थापना पश्चात यो प्रथा लोप हुँदै गएता पनि नेपालका ग्रमिण क्षेत्रमा यो प्रथा अझैपनि कायमै छ ।

    ३. बाँधा प्रथाः

          गरिबहरुले आँफुसँग राख्ने कुनै सामान नहुँदा आफ्नो सन्तानलाई नै बन्धक राख्ने प्रथालाई नै बाँधा प्रथा भनिन्छ । पृथ्वीनारायण शाहको पाला अघि यो प्रथा प्रचलनमा रहेको पाइन्छ । यो प्रथा प्रचलनमा आउनुको मुख्य कारण बहुसंख्यक जनता कृषिमा आश्रीत हुनु तर आफ्नो निजि जग्गा नहुदा सन्तानलाई बन्धकी राखि ऋण लिने हो भने उक्त ऋण तिर्न नसक्दा बन्धकी राखेका सन्तानहरु दास दासिमा परिणत हुन्थे ।

     

    ४. झुमा / ढावा प्रथाः

          यो प्रथा नेपालको उत्तरी भागमा बसोबास गर्ने शेर्पा‚ लामा‚ लोवा आदि बौद्ध धर्मालम्बी समुदायमा केही कुमारी केटीहरुलाई बौद्ध गुम्बाको सेवा गर्न चढाउने प्रथा हो । तीनवटी छोरी भएमा माईली छोरीलाई झुमा (बौद्ध कन्या) र तीन वटा छोरा भएमा माइलो छोरालाई ढावा (लामा) बनाएर बौद्ध गुम्बाको सेवा गर्न चढाइन्छ भने कोहि स्वच्छाले झुमा बन्दछन । गुम्बामा रहेका झुमा र लामा बिच अबैध यौन सम्बन्ध भै जन्मेको सन्तान लामा वा झुमाका रुपमा त्यही गुम्बामा रहने प्रचलन छ ।

    ५. छाउपडी प्रथाः

          सूदुरपश्चिमका केही जिल्लामा महिनावारी भएका महिलाहरुलाई घरबाट केही टाढा गोठमा राख्ने गरिन्छ जसलाई छाउपडी प्रथा भनिन्छ । यस्ता छाउपडी बस्ने महिलाहरुले आँगन टेक्न नहुने‚ दुध दहि खान नहुने‚ पढ्न लेख्न नहुने जस्ता बन्धन तोकिएका छन् । महिनावारी तथा सुत्केरी अवस्थालाई अशुभ मानि महिलालाई अध्यारो गोठमा राखिने हुँदा आमा तथा शिशुको स्वास्थ्य अवश्था खतारामा पर्ने‚ बलात्कारको शिकार हुनुपर्ने तथा सामान्य जैविक प्रक्रियालाई अन्धविश्वासी दृष्टिले हेर्दा न्यूनतम मानवियता माथि प्रश्नचिन्ह लागेको पाइन्छ ।

    ६. डंगुवा प्रथाः

          आफ्नो लोग्ने परलोक भएकी विधवा महिलाले नाता नपर्ने परपुरुषलाई लोग्ने जस्तै घरमा राख्न पाउने प्रथालाई डंगुवा प्रथा भनिन्छ । राजवंशी समूदायमा प्रचलित यो प्रथामा डंगुवा बस्ने पुरुषलाई अरु विवाहित पुरुषले राती घुम्टो ओडाएर विधवा नारीको घरमा भित्र्याउँछन् । यस्तो डंगुवा बस्ने पुरुषहरु या त विदूर (राणो) हुन्छन् या आर्थिक रुपमा कमजोर हुन्छन् । डंगुवा बसेका पुरुष र महिला पति पत्निको सम्बन्धमा रहेता पनि उक्त पुरुषको दर्जा समाजमा अन्य पुरुषभन्दा तल मानिन्छ ।

    ७. कमैया प्रथाः

          मध्य तथा सूदुरपश्चिमका केही जिल्लामा खासगरि राना थारु तथा डगौरा थारु समुदायका साहु महाजनबाट ऋण फुकाउन नसक्दा सम्म साहुकहाँ बसि निशुल्क काम गर्ने र ब्याज मिनाह गर्ने प्रथालाई कमैया प्रथा भनिन्छ । यस्तो कमैया बस्नेको ऋण अरुले नै तिरीदिएमा सो कमैया उसकै हुने परम्परा रहेको छ । वि.सं. २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा भइसकेता पनि ठोस कार्यक्रमको अभावमा कमैयाहरुको समस्या समाधान हुन सकेको छैन ।

    ८. दास प्रथाः

          मानिसलाई बस्तुभाउको जस्तै मूल्य तोकि किनबेच गरी दास दासिको रुपमा राख्ने प्रथालाई दास प्रथा भनिन्छ । यो प्रथा प्राचिन तथा मध्यकालमा विश्वका अधिकांश मुलुकमा ब्याप्त थियो । दास प्रथाको उन्मूलनको क्रममा नै अब्रहम लिंकनको हत्या भएको थियो । जंग बहादुरले वि.सं. १९१० को मुलुकी ऐन मार्फत १६ बर्ष भन्दा कम उमेरकालाई दास दासी राख्न नपाउने‚ बिक्री गर्न नपाउने तथा नयाँ ठाउँमा दास गएमा पुरानो ठाउँमा फिर्ता हुन बाध्य बनाउन नपाउने जस्ता सुधार गरे भने कानुनी रुपमा वि.सं.१९८२ बैसाख १ गते चन्द्रशमशेरले दासप्रथाको उन्मुलन (घोषणा १९८१ मंसिर २४ गते) गरे । दास प्रथा उन्मुलन गर्दाः

    कुल जनसंख्या                                    ५५‚७३‚७८८

    जम्मा दास दासीको संख्या                     ५९‚५७३

    क्षतिपुर्ती तिरेर मुक्त गरिएका दास दासिहरु       ५१‚७८३

    मालिकको संख्या                            १५‚७१९

    मालिकलाई दिएको क्षतीपुर्ती                   ३६ लाख ७० हजार

    ९. सती प्रथाः

          लोग्ने मरेपछि चिता सँगै श्रीमतीले पनि प्राण त्याग गर्नुपर्ने प्रथालाई सती प्रथा भनिन्छ । यो प्रथा प्राचिन कालदेखी नै नेपाल र भारतमा प्रचलित थियो । यो प्रथा रोक्ने प्रयासहरुमा राजा मानदेवकी आमा सती नजानु तथा मुलुकी ऐन १९१० को सुधार‚ वीरशमशेरको सरकारको अनुमतीमा मात्र सती जान पाइने नियमलाई लिन सकिन्छ भने सती प्रथाको विधिवत अन्त्य वि.सं. १९७७ अषाढ (सन् १९२० जुलाई २८) मा चन्द्रशमसेर द्वारा भयो ।

          वि.सं. १९१० को मुलीकी ऐनको सुधारः- १६ बर्ष मुनिकी बिधवा‚ दासी एवं नोकर महिला र १२ बर्ष भन्दा कम उमेरका छोराछोरी हुने महिला लाई सती जानु नपर्ने ।

    १०. घोडाभेडा प्रथाः

          कर्णाली अञ्चलको मुगु जिल्लामा प्रचलित यो प्रथामा लेनदेन जारी‚ कुटपिट‚ अंशबण्डा‚ जारी मुद्दा आदि सम्बन्धमा झगडा वा विवादमा स्थानीय भद्र भलाद्मी ठालुहरुले दुवै पक्षलाई जुटाइ झगडा मिलाउने र झगडा मिलाएबापत मध्यस्थकर्तालाई भेडा काटेर खुवाउनु पर्ने तथा घोडा चढाएर पठाउनुपर्ने प्रथालाई घोडा-भेडा प्रथा भनिन्छ । यो प्रथाले त्याहाका गरिबमाथि ठुलो अन्याय र अर्थिक शोषण गरेको छ ।

    ११. तिर्जा प्रथाः

          कुनै ठाउँको एति बाली उठाइ खानु भनि दिइएको अधिकारपत्रलाई तिर्जा भनिन्छ । राज्यको सिपाही तथा हाकिमलाई तलबको रुपमा हरेक बर्ष तिर्जा दिने राणाकालिन यस प्रथालाई जिर्जा भनिन्छ । जुद्ध शमशेरको पालामा प्रचलनमा रहेको यो प्रथा मा श्रावण संक्रान्ति र श्रीपञ्चमीका दिन क्रमशः हिउँदे र वर्षे बालिका लागी असन बजारमा अहिलेको स्टक एक्सचेन्ज जस्तै बिक्रिहुने गर्दथ्यो ।

    १२. डोलाजी प्रथाः

          मध्यकालमा प्रचलित विवाहको एउटा प्रथा मध्ये एक यो प्रथामा दुलाहा नै दुलहिको घरमा गइ बस्ने‚ दुलहीको गोत्रमा दुलाहाको गोत्र परिवर्तन हुने पारिवारीक सदस्य बनी अंशियारसमेत हुने प्रचलन रहेको छ । सन्तानमा छोरा नभइ छोरी मात्र भएको अवस्थामा डोलाजी लिने गरिन्थ्यो । जुन नेपाल उपत्यका र कर्णाली खस मल्ल राज्यमा प्रचलित थियो ।

    १३. सैरली प्रथाः

          खासगरी मध्यपश्चिमाञ्चल विकास क्षेत्रका सुर्खेत‚ सल्यान जिल्लमा युकहरुले युवतिहरुलाई निमन्त्रणा गर्ने र युवतीहरु बोलाएको ठाउँमा घुम्न  वा सयर गर्न जाने प्रथालाई सैरली प्रथा भनिन्छ ।

    १४. खुल्ला प्रथाः

     

          विवाह नभएका युवतीहरु प्रत्येक वर्ष पौष १५ देखी चैत्र १५ सम्म आफूलाई चाहिने खाद्यान्न र लताकपडा लिएर नजिकैको जंगलमा गइ एकान्त जीवन बिताउने प्रथालाई खुल्ला प्रथा भनिन्छ । यो प्रथा विशेष गरि डोल्पा जिल्लामा प्रचलित रहेको छ ।

    प्रतिक्रिया दिनुहोस