२०७७ मंसिर २०, शनिबार | Sat, 05, Dec, 2020

यसरी लोकसेवा आयोग तयारी गर्दा सफल भइन्छ

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ५ महिना अघि
  • सार्वजनिक प्रशासन भनेको राज्य र जनताबीचको सेतु हो। सार्वजनिक प्रशासनले नै राज्यद्धारा जनतालाई प्रदान गरिने नियमित, आकस्मिक र बिकासात्मक कार्य तथा सेवा प्रवाह गर्दछ। सार्वजनिक प्रशासन अन्तर्गत निजामति सेवा, प्रहरी, आर्मी, शिक्षक लगायत जनताको करबाट तलब तथा सुबिधा लिने राजनीतिक प्रतिनिधि बाहेकको सबै निकायहरु पर्दछन। सार्वभौमसत्ता जनताबाट आवधिक निर्वाचन मार्फत चुनिएका राजनीतिक नेतृत्वद्वारा तर्जुमा गरिएका नीति, नियम, बजेट तथा कार्यक्रमहरुको कार्यन्वयन गर्ने प्रमुख जिम्मेवारी सार्वजनिक प्रशासनको रहेको छ। नेपालमा निजामति सेवाको पदमा पदपुर्तिको लागी लोकसेवा आयोगको व्यवस्था गरिएको छ। नेपालमा बिस २०१३ सालमा  निजामति सेवा ऐनको गठन भए पश्चात योग्यतामा आधारित प्रणाली मार्फत कर्मचारी छनौट तथा भर्ना गरिने व्यवस्था रहेको छ। हाल नेपालमा संघ, प्रदेश र स्थानीय तह गरी निजामती सेवामा बिभिन्न तहमा करिब ८५ हजार भन्दा धेरै कर्मचारीहरु कार्यरत छन।

    निजामती सेवालाई सक्षम, सुढृण, सेवामुलक, उत्तरदायी, पारदर्शी र मर्यादित बनाउन लोकसेवा आयोगको परीक्षा मार्फत संघ तर्फ खरिदार, नायब सुब्बा, शाखा अधिकृत, उपसचिव र सहसचिव तहको खुला परीक्षामा आबेदन दिन सकिने छ भने स्थानीय तहको चौथो, पाचौ र अधिकृत छैठौ तहमा लागि पनि आबेदन दिन सकिनेछ। निजामति सेवामा सेवाको सुरक्षा, बृत्तिविकास, तालिम,  बैदेशिक अध्ययन, सेवापछिको सुनौली निबृत्तभरण लगायत देशको भौगोलिक, राजनीतक, आर्थिक, सामाजिक, साँस्कृतिक क्षेत्रमा अनुपम ज्ञान समेत हासिल गर्ने अवसर समेत प्राप्त गर्न सकिने भएकोले यस सेवालाई आकर्षण कै रुपमा लिइन्छ। साथै लोकसेवा परीक्षा मर्यादित, पारदर्शि र योग्यतामा आधारित समेत रहेको छ। अतः राज्यको विकास निर्माण गर्दै राज्य र राष्ट्र निेर्माणमा जुट्न निजामति सेवामा प्रवेश गर्न लोकसेवा आयोगको तयारी कसरी गर्ने भन्ने बिषयमा चर्चा गरेको छु। लोकसेवा तयारीमा रहेकाहरुबाट धेरै सोधिने प्रश्न मध्ये लो‍कसेवा तयारी कत्तिको गाह्रो हुन्छ? दिनमा कति घण्टा अध्ययन गर्नु पर्छ? कसरी पढ्ने होला? मलाई त याद नै हुदैन लगायतका बिबिध प्रश्नहरु आउने गरेको छ। साथै लोकसेवा सम्बन्धि सुचना पाठ्यक्रम लगायतका विविध बिषयको जानकारीका लोकसेवा आयोगको वेवसाईट  www.psc.gov.np बाट लिन सकिनेछ।

    अतः लोकसेवा आयोगको परीक्षा तयारी कसरी गर्ने भन्ने बिषयमा आफुले तयारी गर्दाको अनुभवलाई तपशील बमोजिम प्रकाश पार्न कोशिस गरेको छु ।

    मनोबल उच्च बनाउनेः

    लोकसेवा तयारीमा जुट्नको लागी सकारात्मक सोचका साथ उच्च मनोबल राख्नु पर्दछ। थोरै पदमा धेरै जना  प्रतिस्पर्धी हुने भएकोले जसरी पनि उत्तीर्ण हुन सक्छु, सेवा प्रवेश जसरी पनि गर्छु भन्ने हिम्मत हौसला आफैले आफैलाई दिनु पर्दछ। यसबाट मनमा सकारात्मक उर्जाको विकास भई निरन्तर उत्प्रेरणा प्राप्त हुन्छ। अध्ययनलाई नसाको रुपमा लिनु तथा  जति अध्ययन गर्‍यो त्यति नै आनन्द आउने वातावरणको सृर्जना आफैले गर्नु पर्दछ। जुनसुकै बिषयमा अध्ययन गरे पनि आफुले उच्च मनोबल राखेमा सफलता निश्चित छ ।

    अध्ययन वातावरण तयार गर्नेः

    अध्ययन गर्नको लागि शान्त र रमणीय वातावरण भएको अध्ययन कक्ष हुनु पर्दछ। सो अध्ययन कक्षमा पर्याप्त प्रकाश हुनुपर्छ। वाहिरी अवरोध, अनावश्यक हल्ला भएमा अध्ययनमा एकागग्रता नहुन सक्छ। अध्ययन कक्षमा बसेर अध्ययन गर्दा आनन्द प्राप्त हुनुपर्छ। अध्ययनशील साथीको संगत गर्ने र पारिवारिक शान्त वातावरणको सृजना गर्नु पर्दछ। असल सँगतले सफलताको नजिक पुर्‍याउदछ।

    पाठ्यक्रमको गहिरो ज्ञानः

    पहिलो त आफुले तयारी गर्न लागेको पदको पाठ्यक्रमको बारेमा राम्रोसँग ज्ञान हुनु पर्दछ। पाठ्यक्रम भित्रको हरेक पाठ तथा कन्टेन याद हुनु पर्छ। यदि सम्पुर्ण पाठ र त्यसको  कन्टेन याद भएमा  करिब २० प्रतिशत जति उत्तर लेख्न सकिन्छ। हरेक पाठहरु कुनै न कुनै रुपमा एक अर्कासँग अन्तरसम्बन्धित हुन्छन। एउटा पाठबाट सोधिने प्रश्नको  उत्तर अर्को पाठको नाम तथा त्यसको कन्टेनसँग मिल्न जान्छ र त्यसलाई खोज्ने प्रयास गर्नुहोस। परीक्षामा जादा कम्तिमा पनि कुनै  पाठबाट प्रश्न सोधिएमा यत्ति लेख्छु भनी योजना बनाउन सक्नु पर्दछ। त्यस्तै गरी हरेक पाठको दुइवटा स्तरीय परिभाषा घोक्नु पर्दछ। प्रश्नको उत्तर लेख्दा सोही परिभाषाबाट दमदार सुरुवात गर्न सके परीक्षक पनि खुसि हुनेछ।

    लेखन शैलीको निरन्तर विकासः

    परीक्षामा उत्तर लेख्दा सकेसम्म SMART (Specific, Measurable, Achievable, Realistic, and Timely) हुनु पर्दछ। एस.एल.सि., स्नातक तथा स्नातकोत्तर परीक्षामा जस्तो बिश्लेषणात्मक फर्मेटमा उत्तर लेख्नु हुदैन। अक्षर राम्रा नभए पनि लेखिएको कुराहरु परीक्षकले सजिलै बुझ्न सकिने हुनु पर्दछ। त्यसैले लोकसेवा तयारी गर्दा पाठहरु लेखेर अभ्यास गर्नु राम्रो हुनेछ। लेखेको कुरा धेरै समयसम्म स्मरण हुने तथा लेखाइको गति पनि बढ्ने भएकोले अधिकतम रुपमा लेखेर नै अध्ययन गर्ने बानीको बिकास गर्नु पर्दछ। साथै लेख्ने अभ्यासले शब्द छनौट, शब्दको प्रयोगमा प्रभावकारीता आउनेछ।

    स्मरण गर्ने शैलीः

    सबै जनाको आआफ्नै स्मरण गर्ने क्षमता र बानी हुन्छ। केहीलाई शुत्रबिधिबाट अध्ययन गर्दा स्मरण गर्न सहज हुन्छ। सकेसम्म मिति, समय, क्रमशः रहेको घटना याद गर्नु पर्दा  शुत्र बनाउदा प्रभावकारी हुन्छ। त्यस्तै स्मरण क्षमता र अवधि बृद्धि गर्न गीत, कबिता, कथा, चुटकिलाको शुत्र रचना गरी अध्ययन गर्न सकिन्छ। साथै आफुलाई  रमाइलो लाग्ने नेपाली वा अग्रेजी शब्दहरुको पहिलो अक्षरबाट फुल फर्म बनाएर पनि याद गर्न सकिन्छ। यदि धेरै शुत्र भई अन्यौलता भएमा हरेक दिन विहान शुत्रलाई रिभिजन गर्ने, राती सुत्नु भन्दा अगाडि आखा बन्द गरी एकपटक दिन भरीको अध्ययनलाई स्मरण गर्ने तथा बिहान २० मिनेट मेडिटेसन गरी स्मरण शक्ति बढाउन सकिनेछ ।

    गहन  उचित शब्दको चयनः

    उत्तर लेख्दा सकेसम्म ओजनदार शब्दको चयन गर्नु पर्दछ। संबिधान, ऐन, कानुनमा प्रयोग भएको शब्दहरुको उपयुक्त  प्रयोगले उत्तरलाई थप आकर्षित बनाउनेछ।  नेपालको संबिधान, निजामति सेवा ऐन, स्थानीय सरकार सञ्चालन ऐन, सूचनाको हक सम्बन्धि ऐन तथा अन्य ऐनहरुको प्रस्तावनालाई याद गर्नु उपयुक्त हुन्छ। त्यस्तै गरी संबिधानको राज्यको निर्देशक सिद्धान्त र नीतिहरु, चालु योजना, बजेट तथा कार्यक्रम पुस्तिका लगायत बिभिन्न लेखा रचनाहरुबाट कम्तिमा २००  वटा जति बिशिष्ट शब्दहरुको छनौट गरी ती शब्दहरुलाई आफ्ना उत्तरहरुमा समाबेश गर्नु राम्रो हुनेछ ।

    संबैधानिक  कानुनी ज्ञानः

    नेपालको संबिधानबाट मौलिक हक, राज्यको निर्देशाक सिद्धान्त र  नीतिहरु, राज्यशक्तिको बाडफाड, कार्यपालिका व्यवस्थापिक र न्यायपालिका, संबैधानिक अंगहरुको व्यवस्था, निजामति सेवा ऐन र नियमावली, स्थानीय सरकार सञ्चालन ऐन, सार्वजनिक खरिद ऐन, आर्थिक ऐन, सुचनाको हक सम्बन्धी ऐन,  चालु योजना, लगायतको  बिषय मुख्यरुपमा अध्ययन गर्नु पर्दछ। त्यस्तै पाठ्यक्रममा भएका अन्य ऐन कानुनहरुको पनि अध्ययन गर्नु पर्दछ। संबैधानिक र कानुनी व्यवस्था बारे उत्तर लेख्दा  हुबहु  हुनु पर्दैन। तथापी लेख्न सकिएमा सुनमा सुगन्ध हुनेछ।

    नोट बनाएर अध्ययन गर्नेः

    लोकसेवा आयोगको तयारीमा नोट बनाएर अध्ययन गर्दा प्रभावकारीता र एकरुपता हुन्छ। दैनिक एउटै कुरा निरन्तर अध्ययन गर्दा अधिक समय सम्म स्मरण गर्न सकिन्छ। बजारमा उपलब्ध भएका राम्रा  दुई तिनवटा  पुस्तकहरु संकलन गरी तिनीहरुको संयोजन गरि राम्रो नोट बनाउन सकिन्छ। नोट बनाउदा जुन पुस्तकबाट बुझ्न सजिलो हुन्छ त्यसैलाई आधारमानी नोट तयार गर्न सकिन्छ। नोट तयार गर्दा महत्वपुर्ण कुराहरुलाई हाइलाइट गर्ने तथा नोटमा नै शुत्र बनाउन पनि सकिन्छ।

    भित्ता लेखन गर्नेः

    अध्ययनलाई रोचक र मनोरञ्जनात्मक बनाउनु पर्दछ। आफ्नो अध्ययन कक्षको भित्तामा बिभिन्न शुत्रहरुको फ्लेक्स टाँसी दिनको एक पल्ट अल्छि लागेको समयमा अध्ययन गर्न सकिन्छ। यसबाट पहिलो त लेखन कार्यमा सुधार हुन्छ भने दोश्रो शुत्र खोज्दा लाग्ने समयको बचत हुन्छ। बिभिन्न रङ्गहरुको प्रयोग गरी फ्लेक्स बनाइ अध्ययन गर्दा रुची बढ्ने तथा  सहज पनि हुनेछ।

    साथीसँग छलफल गर्नेः

    तयारीको बेला कसैलाई एक्लै अध्ययन गर्ने बानी हुन्छ भने कसैलाई साथीसँग मिलेर अध्ययन गर्ने बानी हुन्छ। यदि मिल्ने साथी भएमा फरक फरक स्थानमा अध्ययन गरिएता पनि दिनको एकपटक एक अर्कालाई सोध्ने र थप प्रतिक्रिया लिदा  आफ्नो प्रगतिको अवस्था तुरुन्त थाहा हुन्छ। यसरी साथीसँग मिलेर अध्ययन गर्दा थप उर्जा प्राप्त हुने, मनोबल तथा स्मरण क्षमतामा पनि बृद्धि हुनेछ। एक अर्कामा छलफल गरि अध्ययन गर्दा तर्क दिने क्षमताको पनि बृद्धि हुन्छ।

    पाठहरुलाई  लिंक गर्नेः

    लोकसेवाका प्रश्नहरु सामाजिक बिषयबस्तुसँग सम्बन्धित हुने भएकोले गणितको जस्तो एउटै उत्तर हुदैन। आफुले अध्ययन गर्ने पाठहरु एक अर्कामा कुनै न कुनै रुपमा लिंक भैइरहेका हुन्छन।  धेरै भन्दा धेरै पाठहरुको उत्तर एउटै बनाउन पनि सकिन्छ। यसरी उत्तर लिंक गराउन पाठहरुको गहिराईमा जानकारी हुनु पर्दछ। त्यस्तै कहिले काही एउटा पत्रको प्रश्नको उत्तर अर्को पत्रको पाठको नाम वा सोही पत्रको पाठको नामहरु हुन सक्छ। त्यसैले उत्तरहरु लिंक गरेर अध्ययन गर्ने गर्नु पर्दछ। त्यस्तै गरी हरेक पाठको महत्व, आवश्यकता, बिशेषता, बिद्यमान समस्या र चुनौतीहरु, समस्या समाधानका उपायहरुलाई पनि एउटै मास्टर शुत्र बनाई याद गर्न सकिन्छ। आइक्युको अभ्यास गर्दा सकेसम्म  छोटो फर्मुला तथा समाधान गर्ने बिधिहरु निर्माण गर्ने तथा  धेरै भन्दा धेरै अभ्यास गर्दा सफलता हासिल हुन्छ।

    निरन्तरता रिभिजन  गर्नेः

    लोकसेवामा थोरै समयमा धेरै बिषयबस्तुहरु अध्ययन गर्नु पर्ने भएकोले स्मरण गर्न मुस्किल नै हुन्छ। कतिपय बिषयबस्तुहरु एकै पल्टको अध्ययनले स्मरण हुदैन। पाठहरुलाई सकेसम्म दिनको एकपटक दोहोर्‍याउने गर्नु पर्दछ। पहिलो पटक याद गर्न मुश्किल भए पनि निरन्तर अध्ययन गर्दै गएमा पहिलो चोटी दिन भरी लगाएर स्मरण भएको बिषयबस्तु पनि पछि २० मिनेटमा रिभिजन गर्न सकिन्छ। त्यस्तै याद भैसकेका पाठहरु रिभिजन नभएमा बिर्सने हुदा  निरन्तर रुपमा रिभिजन गर्नु पर्दछ। नयाँ पाठमा जानु पुर्व पुराना पाठलाई रिभिजन गर्दै अगाडी बढ्दा स्मरण अवधि बढ्छ।

    समसामायिक बिषयको ज्ञानः

    समसामायिक बिषयहरुबाट प्रश्न सोधिरहने भएकोले प्रत्येक दिन बेलुका दिनभरी के के भयो भनेर कम्तिमा १ घण्टा पत्रपत्रिका, रेडिया, अनलाईन खबरबाट समाचार पढ्नु पर्दछ। आफुलाई महत्वपुर्ण लागेका बिषयहरुको टिपोट गर्ने, हाइलाईट गर्ने तथा अभिलेखन गर्नु पर्दछ। समसामायिक राजनीतिक, सामाजिक, आर्थिक तथा वातावरणीय मामिलाहरुमा आफुलाई लागेको बिचारहरु लेख्दा रचनात्मक लेखन शैलीको बिकास भैइ लेखन शैलीमा निखार्न सकिन्छ।

    उत्तर लेख्ने शैलीः

    लिखित पत्रमा उत्तर लेख्ने शैली सकेसम्म एउटै ढाँचामा बनाउनु पर्दछ। पाँच अंकको प्रश्नमा कम्तिमा एक पेज वा आठ मिनेट र दश अंकको प्रश्नमा कम्तिमा दुई पेज वा पन्ध्र मिनेट खर्चिनु पर्छ। उत्तर लेख्दा सोधिएको पाठको टपिकको परिभाषाबाट सुरु गर्नु पर्दछ । कम्तिमा २ वटा जति ओजनदार परिभाषा लेखि ततपश्चात प्रश्नले खोजेको कुरा तर्फ उन्मुख हुनु पर्दछ। सकेसम्म बुदाँमा ( बुलेट) उत्तर लेख्नु पर्दछ। हरेक बुदाँको स्पष्ट अर्थ आउनु पर्छ। दश अंकको प्रश्नको उत्तरमा अनिवार्य रुपमा सारांश ‍लेखिनु पर्छ। सारांशमा नयाँ कुरा भन्दा पनि माथी लेखिएको उत्तरहरुलाई नै समष्टिगत रुपमा सकारात्मक रुपमा लेखिनु पर्छ। उत्तर लेख्दा सकेसम्म कर्म वाच्यमा सकारात्मक रुपमा लेखिनु पर्दछ । सबै प्रश्नहरुको उत्तर अनिवार्य रुपमा लेख्नु पर्छ।कुनै प्रश्नको उत्तर  छोडिएमा उत्तीर्ण हुने सम्भावना न्यून रहनेछ। आफुलाई जुन खण्डको प्रश्न सजिलो लाग्छ सोही खण्डबाट उत्तर  लेखन कार्य सुरु गर्नु उत्तम हुनेछ। उत्तर सकेसम्म SMART हुनु पर्दछ। साथै उत्तर लेख्दा सकेसम्म यथार्थ परक र तथ्यमा आधारित भएर लेख्नु पर्दछ।

    समय  ब्यवस्थापन गर्नेः

    हरेक प्रश्नलाई अंक भारको आधारमा बराबर समय व्यवस्थापन गर्नु पर्दछ । लिखित पत्रमा  जानेको प्रश्नमा धेरै समय खर्च गर्नु हुदैन। समय समयमा  घडि हेरेर समय व्यवस्थापन गर्नु पर्दछ।  सामान्य ज्ञान र आइक्युको प्रश्नको समाधान गर्दा सामान्य ज्ञानबाट सुरु गर्दा हुन्छ। प्रश्न अफ्ठ्यारो भई धेरै समय खर्चिनु पर्ने भए अर्को प्रश्न समाधान गर्न तर्फ जानु  नै उपयुक्त हुन्छ।

    परीक्षाको समयमा  के गर्ने ? 

    परीक्षामा जानु भन्दा अघि पर्याप्त सुत्नु पर्छ। परिक्षा केन्द्रमा समयमा नै प्रबेशपत्र,  स्टेशनरी सामाग्री तथा आवश्यक सामाग्री लिएर उपस्थित हुनु पर्दछ। परीक्षामा जानु अघि कम पानी पिउने तथा  चालु अवस्थाको घडि साथमा हुनुपर्दछ।

    लेखक – शा.अ. नबिन लामा

    ( लेखक नेपाल सरकारका शाखा अधिकृत हाल इन्टरनेशनल युनिभर्सिटि अफ जापानमा एमबिए अध्ययनरत छन। )

    प्रतिक्रिया दिनुहोस