२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

चीनले नेपालकाे भूमि अतिक्रमण गरेकाे छैन : परराष्ट्रमन्त्री ज्ञवाली

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताउनुभएकाे छ । राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक प्रतिवेदन कहाँबाट सार्वजनिक भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।

    मन्त्री ज्ञवालीले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारबाहीको दायरामा ल्याइने बताउनुभयो । भारतसँग सीमा विवादका कारण पश्चिमको त्रिदेशिय सीमा स्तम्भ कायम नभएको बाहेक चीन सँगै कुनै ठाउँमा पनि सीमा समस्या नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसरी प्रायोजित ढंगले समाचारहरु आए ? दुई देशको सम्बन्धलाई गम्भीर प्रभाव पार्ने यस्ता खालका फेक न्यूजहरु कसरी कुन कारखानाबाट आए ? कसरी सर्कुलेट भए ? भन्ने कुराहरु गम्भीर रुपमा लिएका छौँ । त्यो सो कल्ड प्रतिवेदन कहाँ उत्पादन भयो भन्ने कुराको खोजी गरिरहेका छौं। तथाकथित स्रोतसँग सम्बन्धित व्यक्तिलाई कानूनी कारबाहीमा ल्याउने छौँ ।’

    भौगोलिक विकटताका कारण ३७ र ३८ नम्बर सीमा रेखा निर्माण नगर्ने सहमति दुबै देशबीच बनेको उहाँले बताउनुभयो । अहिले सगरमाथाको उचाई घोषणा गर्ने तयारी नेपालले गरिरहँदा चीनले पनि नापेकोले दुबै देशबीच कुराकानी भइरहेको उहाँले बताउनुभयो । सन २००६ भन्दा अगाडि ५७ र ६२ नम्बरका सीमा स्तम्भ हराएपनि त्यसपछि भएको संयुक्त निरीक्षणका क्रममा फेला परेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस