२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

ओलीले भने: ‘भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्यो’

  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खोजेको दाबी गरेका छन् । त्यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ ।

    मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आइतबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ …।’

    आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको उनले स्मरण गरे । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए ।

    उनले भने, ‘नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’

    ‘चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो । बाहिर भन्न नसक्ने तर भित्रभित्रै यस्तो अपराध गर्ने केपी ओलीलाई …. दिल्लीका सञ्चार माध्यमहरू सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ के-के भइरहेको छ । यहाँका होटलहरूमा भइरहेका गतिविधिले पनि देखाइरहेको छ । दूतावासको सक्रियताले पनि देखाउँछ ।’ -Onlinekhabar

    प्रतिक्रिया दिनुहोस