२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

प्रेरक प्रसंग : सफलताको सूत्र

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • डा. रोजर ब्यानिस्टरको जन्म सन् १९२९ मा बेलायतमा भएको थियो । चर्चित स्नायु विशेषज्ञ भएर पनि उनी थोरै फुर्सद पाउनासाथ दौडिने अभ्यासमा जुटिहाल्थे । त्यतिखेरसम्म बेलायतका कुनै पनि तीव्र गतिका धावकले एक माइल लामो दौड चार मिनेटभन्दा कम समयमा पूरा गर्न सकेका थिएनन् । जब उनले आफ्ना मित्रबाट यस विषयमा सुने, तब उनले नियमित अभ्यासबाट यो समय कम गर्न असम्भव नभएको प्रतिक्रिया जनाउँदै भने– निरन्तर कोसिस जारी राख्ने हो भने केही पनि असम्भव छैन ।

    उनीहरूबीच कुराकानी हुँदै गर्दा त्यहाँ अर्का एक चिकित्सक पनि थिए । उनले डा. रोजरसित भने– डाक्टरसाब, मानिसमा त्यति तेज गतिमा दौडिने शक्ति नै हुँदैन । त्यसैले, यसमा अभ्यासको कुनै भूमिका हुँदैन । डा. रोजरले भने– तपाईंहरू मलाई केही समय दिनुहोस्, म चार मिनेटभन्दा कम समयमा एक माइल दौड पूरा गरेर देखाउनेछु ।

    त्यसपछि डा. रोजर दौडको अभ्यासमा जुटे भने उनका मित्रहरू त्यस दिनको प्रतीक्षा गर्न थाले । रातदिन फुर्सदको समयमा अभ्यास गर्दागर्दै डा. रोजर एक कुशल धावक बनिसकेका थिए । अन्त्यमा उनको परीक्षाको घडी आइपुग्यो । उनका साथीहरू पनि यस दिनको तीव्र प्रतीक्षामा थिए भने उनी स्वयं पनि आफ्नो बोली प्रमाणित गरेर इतिहास रच्न आतुर थिए । दौड सुरु भयो । र, डा. रोजरले निर्धारित एक माइलको दूरी ३ मिनेट ५९.४ सेकेन्डमा पूरा गरेर आफूले  भनेको कुरा सिद्ध गरिछाडे ।

    डा. रोजरको यो क्षमता यतिमै मात्र सीमित रहेन । उनले सन् १९५२ मा फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजित ओलम्पिक खेलमा बेलायतका तर्फबाट सहभागी भई स्वर्णपदक हात पारे । आखिर निरन्तरको लगन र इच्छाशक्ति नै सफलताको सूत्र हो भनेर उनले संसारसामु प्रमाणित गरेर देखाए ।

    प्रतिक्रिया दिनुहोस