२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

प्रेरक प्रसंग : रिसको नियन्त्रण

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • एक बालक अत्यन्त रिसाहा थिए । उनी छिनछिनमै रिसाइरहन्थे । एक दिन उनका पिताले फलामे किलाको एउटा थैलो दिँदै भने- बाबु, तिमीलाई दिनमा जतिपटक रिस उठ्छ, त्यति नै पटक यो थैलाबाट निकालेर एउटा किला यो भित्तोमा ठोकिदिनू ।

    बालक पहिलो दिन ४० पटक रिसाए र उनले ४० वटै किला भित्तामा ठोकिदिए । दिनदिनै किला ठोक्दै जाँदा किलाको संख्या घट्दै गयो । उनलाई किला ठोक्न यति धेरै मिहिनेत गर्नुभन्दा रिसमाथि नियन्त्रण गर्नु ठीक लाग्न थाल्यो । पछिल्लो सातामा उनले आफ्नो रिसमाथि केही हदसम्म नियन्त्रण राख्न सिके ।  यस्तो हुँदै जाँदा यस्तो दिन पनि आयो, जुन दिन बालकले एउटै किला पनि भित्तामा ठोक्नुपरेन ।

    बालकले यसबारे आफ्ना पितालाई बताए । पिताले उनलाई पुनः अर्को काम दिए । उनले भने– अब तिमी जुन दिन एकपटक पनि रिसाउँदैनौ, त्यस दिन यस भित्ताबाट एउटा किला निकाल्ने गर । बालकले यसै गरे । धेरै दिनपछि उनले भित्ताका सबै किला निकाली भ्याए । त्यसपछि उनले खुसी हुँदै पितालाई यो कुरा सुनाए।

    छोराको कुरा सुनेपछि पिताले उनलाई सोही भित्तोनजिक लगे र भने– बाबु, तिमीले निकै राम्रो काम ग-यौ । तर, के तिमी यो पर्खालमा किलाले पारेका प्वाल देखिरहेका छौ ? अब यो पर्खाल पहिलेजस्तो बन्न सक्दैन । यसका लागि हामीले धेरै मिहिनेत गर्नुपर्छ ।

    जब तिमी रिसाउँछौ, त्यतिखेर रिसमा निस्कने शब्द र विचारले पनि तिम्रो व्यक्तित्वमाथि गहिरा घाउ बनाउँछन् । र, ती घाउ सजिलै निको हुन सक्दैनन् । त्यसैले फेरि-फेरि रिस उठ्दा यो सत्य जहिल्यै मनन गर्नू ।

    प्रतिक्रिया दिनुहोस