२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

विवाहबारे सुकरातको सल्लाह

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • दार्शनिक सुकरातका कैयौँ शिष्य थिए । तीमध्ये एक शिष्य बिहे गरौँ कि नगरौँ भन्ने गम्भीर द्विविधामा थिए । उनले यस विषयमा आफन्त र भाइसाथीसित सल्लाह पनि लिए । सबैले आ-आफ्नै ढंगले सल्लाह दिए । कसैले विवाह नगरी नहुने सल्लाह दिए भने कसैले विवाह गरेर झन्झटमा नफस्न सल्लाह दिए ।

    सबैको सल्लाहपछि उनी बिहे गरौँ कि नगरौँ भनेर बडो धर्मसंकटमा परे । उनले यसबारे उचित निर्णय लिन सकेनन् । त्यसैले, उनी गुरु सुकरातबाट यस विषयमा सल्लाह लिने निर्णयमा पुगे । सुकरातको वैवाहिक जीवन सुखद थिएन, अत्यन्त कष्टप्रद थियो ।

    त्यसैले, सबैले यस विषयमा उनले विवाह नगर्ने नै सल्लाह दिन्छन् भन्ने सोचेका थिए । तर, शिष्यको जिज्ञासा सुनिसकेपछि सुकरातले शान्त भावमा उत्तर दिए- तिमीले विवाह गर्नुपर्छ बाबु ! गुरुको सल्लाह सुनेपछि शिष्यले प्रश्न गरे- तर, तपाईंको जीवन त विवाहकै कारण नर्कमय छ नि गुरु ?

    शिष्यको प्रश्न सुनेपछि सुकरात मुसुक्क हाँसे र जवाफ दिए- तिमीलाई असल पत्नी प्राप्त भएको अवस्थामा तिम्रो जीवन सुखमय हुनेछ । तिमीलाई सफलतातर्फ लम्किन सहज हुनेछ । किनकि, तिम्रो सफलताका पछाडि तिनै पत्नीको हात हुनेछ । केही गरी मेरीजस्ती कर्कस र दुर्मुखा पत्नी प्राप्त भएको अवस्थामा तिमी दार्शनिक बन्न सक्छौँ । अर्थात्, विवाह कुनै पनि कोणबाट घाटाको व्यापार होइन । घर जाऊ र खुरुक्क विवाह गर ।

    प्रतिक्रिया दिनुहोस