२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

स्टेजबाट पालिएका संगीतकर्मीमाथि कोरोनाको बज्रपात

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • कोरोना भाइरसको संक्रमण नभएको भए, विश्व पहिलेको जस्तै आफ्नै गतिमा दौडिरहेको भए, यतिबेला धेरै नेपाली गायक-गायिका देश र विदेशका स्टेज कार्यक्रमहरूमा दर्शकलाई नचाइरहेका हुन्थे । तर कोरोनाको कहरले अन्य क्षेत्रजस्तै संगीत क्षेत्र पनि ठप्प बनेको छ । कलाकर्मीहरू घरभित्र सुतेर दिन काटिरहेका छन् ।

    हुन त कोरोनाको असर विश्वव्यापी भएकाले अन्य देशका संगीतकर्मीको हालत पनि उही हो । जस्टिन बिवर, सेलेना गोमेज, रिहानाजस्ता विश्वचर्चित गायक-गायिकाले आफ्नो स्टेज कार्यक्रम स्थगित गरेर बसेका छन् । धेरै देशहरूमा त अहिले ‘स्टेज सो’ मा रोक नै लगाइएको छ । सम्भवतः यो वर्ष गायक-गायिकाहरू स्टेजमा फर्किन सक्ने अवस्थामा छैनन् ।

    नेपाली संगीत क्षेत्रको कुरा गर्दा, यहाँ धेरै कलाकारहरू ‘स्टेज सो’बाटै पालिएका छन् । विश्व संगीत युट्युबमा केन्दि्रत हुँदै गएको हुँदा अहिले एल्बमको बजार छैन । युट्युबको भ्युजबाट कमैले मात्रै पैसा कमाउँछन् । त्यसैले अधिकांश नेपाली गायक गायिकाको ८० प्रतिशत आम्दानीको स्रोत स्टेज कार्यक्रम थियो ।

    नेपालमा ठूला चाडपर्वहरू आउँदा प्रायः चलेका कलाकारहरू स्वदेशमा भेटिने थिएनन् । दशैं-तिहारदेखि नेपाली नयाँ वर्षसम्म विभिन्न देशमा रहेका नेपालीहरूबाट उनीहरूलाई डिमान्ड आउँथ्यो । एकपटक विदेश यात्रामा निस्किँदा कलाकारहरूले लाखौं आम्दानी गर्थे । अहिले यसमा पर्दा लागेको छ ।

    यसपाली चाडपर्वको सिजन नजिक आउँदै छ । डेढ महिनापछि तिज र त्यसपछि दशैं-तिहारको माहोल सुरु हुँदैछ । तर संगीत क्षेत्रमा कुनै चहलपहल छैन । सम्भवतः यो वर्षको चाडपर्वमा संगीतकर्मीहरू स्टेजमा उक्लिन पाउने छैनन् । न विदेशमा न स्वदेशमा, कतै पनि स्टेज कार्यक्रमहरू हुने सम्भावना कम रहेको छ । त्यसैले संगीतकर्मीहरू तनावमा छन् ।

    सुरुमा नेपालमा एक साता लकडाउनको घोषणा हुँदा सबैले सामान्यरुपमा लिएका थिए । कलाकारहरू पनि केही दिन परिवारसँगै बिताउन पाइयो भनेर चित्त बुझाउँदै थिए । तर लकडाउन ३ महिनासम्म लम्बिएपछि उनीहरू आत्तिन थालेका छन् । भविष्यको चिन्ताले सताउन थालेको उनीहरू बताउँछन् ।

    लकडाउन पूर्णरुपमा खुल्ला भएपछि समाजका अन्य क्षेत्रहरू पनि खुल्दै जालान् । तर मनोरञ्जनको क्षेत्र पुरानो अवस्थामा फर्किन निकै समय लाग्न सक्छ । अबको एक वा दुई वर्ष हलमा फिल्म नचल्न सक्छन् । स्टेजमा दर्शक नआउन सक्छन् । यसले कलाकारहरूको रोजीरोटीमा प्रश्न उठ्ने अवस्था आएको छ । @Onlinelkhabar.com

    प्रतिक्रिया दिनुहोस