२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

कोरोना जितेकै दिन एक जोडीले सन्तान जन्माए

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • पोखरा-  कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएपछि बागलुङको धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाले कोरोना जितेकै दिन छोरालाई जन्म दिएकी छिन् । ढोरपाटन नगरपालिका वडा नं. ९ स्थायी घर भई छदिनदेखि श्रीमानसँगै आइसोलेसनमा रहेकी १९ वर्षीया महिलाले छोरालाई जन्म दिएकी हुन् ।

    जेठ २३ गते ढोरपाटन नगरपालिकामा आएर क्वारेन्टाइनमा बसेका दुवै जनामा असार ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि श्रीमानसँगै अस्पतालको आइसोलेसनमा उपचाररत महिलाले बिहीबार छोरा जन्माएको धौलागिरी अस्पतालका शल्यक्रिया कक्ष इन्चार्ज देवी भट्टराईले जानकारी दिनुभयो ।

    कोरोना पुष्टि भएपछि आइसोलेसनमा रहेका दुवै जनाको बुधबार साँझ नै दोस्रो परीक्षणमा कोरोना नदेखिएको अस्पतालले जनाएको छ । ‘उहाँहरू दुवै जनाले कोरोनालाई जित्नुभएको छ, महिलालाई बेथा लागेपछि छुट्टै कोठामा लगिएको र नर्मल तरिकाले छोरालाई जन्म दिनुभएको छ, सुत्केरी र बच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।’ भट्टराईले भन्नुभयो ।

    उक्त जोडी रोजगारीका लागि भारतको जालन्धर मिठू बस्तीमा बस्दैआएका थिए । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि आफ्नी गर्भवती श्रीमतीलाई लिएर तीन दिनमा जन्मठाउँ पुगेको श्रीमानले बताउनुभयो ।
    ‘भारतबाट तीन दिनमा गाउँमा आउन सक्याैँ, १४–१५ दिन क्वारेन्टाइनमा बसेपछि दुवै जनामा कोरोना सङ्क्रमण देखियाे । उपचारका लागि अस्पताल आएका थियौँ, अहिले कोरोनालाई पनि जितेका छौँ, श्रीमतीले सहज रुपमा छोरालाई जन्म दिएकी छिन्, श्रीमती र छोराको स्वास्थ्य अवस्था राम्रो भएकाले खुसी लागेको छ ।’ श्रीमानले भन्नुभयो ।

    कोरोना सङ्क्रमण मुक्त भइसकेको, आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएकाले सम्भवतः शुक्रबार नै अस्पतालबाट घर पठाइने धौलागिरी अस्पतालले जनाएको छ । @गाेरखापत्र अनलाइन

    प्रतिक्रिया दिनुहोस