२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

क्वारेन्टाइनमा योगाभ्यास

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • कैलाली-  धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित त्रिभुवन माविको क्वारेन्टाइनमा बसिरहेकी ममता भण्डारीले यहाँ आएपछि योगाभ्यास सिकिन् । भारतको नोयडाबाट फर्केकी उनी दुई सातादेखि आफ्नै वडाको क्वारेन्टाइनमा छिन् ।
    पतञ्जली योग समिति नेपालका प्रशिक्षकले उनीसहित क्वारेन्टाइनमा बसिरहेकाहरूलाई पाँच दिन प्रशिक्षण दिएका छन् । त्यसयता योग उनको दैनिकी बनेको छ । क्वारेन्टाइनमै बसिरहेका अरू पाँचजनासँग मिलेर साँझ–बिहान योग गर्छिन् । भन्छिन्, ‘शारीरिक व्यायाम हुँदोरहेछ, मानसिक शान्ति पनि पाएकी छु ।’

    आरडिटी रिपोर्ट पोजिटिभ आएपछि पिसिआर परीक्षणको नतिजा पर्खिरहेका धनगढी–३ का प्रेमसिंह बोहरा पनि सोही विद्यालयमा क्वारेन्टाइनमा छन् । भारत नयाँदिल्लीमा रेस्टुराँमा काम गर्ने उनको रोजीरोटी लकडाउनले खोसिदियो । घर फर्किनुको विकल्प थिएन र दुई साताअघि स्वदेश फर्किए ।
    सीमामा आएपछि आरडिटी परीक्षणमा पोजिटिभ देखियो र घर जान पाएनन् । ‘दिनभर स्कुलको कोठामै बस्दा तनाव झन् बढ्दोरहेछ,’ उनी भन्छन्, ‘साँझ–बिहान योग गर्न थालेपछि तनाव भुलेको छु । यसले मानसिक शान्ति दिँदोरहेछ ।’
    यस्तै, धनगढी भन्साररोडस्थित नवदुर्गा माविको क्वारेन्टाइनमा बसिरहेका कुर्सेद अन्सारीले पनि नियमित योगाभ्यास गरिरहेका छन् । श्रीमती र छोरासहित भारत पलियाबाट फर्केका उनी आरडिटी पोजिटिभ देखिएपछि परिवारसहित क्वारेन्टाइनमा बसिरहेका छन् । यहीँ योग सिकेका अन्य २५ जना आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछि घर पुगेका छन् ।
    धनगढी–२ स्थित शारदा माविको क्वारेन्टाइनमा बसेका ११ जनालाई पनि योग सिकाइएको छ । उनीहरू सबै स्वास्थ्य जाँचपछि दुई दिनअघि घर पुगे । धनगढी–७ का वडाध्यक्ष नारायण बरालका अनुसार प्रशिक्षकले सिकाएर गएपछि सबैले क्वारेन्टाइनमै नियमित योग गरिरहेका छन् ।
    क्वारेन्टाइनमा बसेकाहरूमा मानसिक समस्या आउन नदिन नियमित योगाभ्यास आवश्यक रहेको पतञ्जली योग समिति कैलालीका युवा प्रभारी सुवास बम बताउँछन् । उनका अनुसार भस्त्रिका, कपालभाँती, अनुलोमविलोम, योगिक जगिङ, सूर्य नमस्कारलगायत अभ्यास उनीहरूलाई गराइन्छ ।
    रोगप्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक ज्ञान पनि दिने गरिएको छ । बेसार, अदुवा, मरिच, ल्वाङ, दालचिनी नियमित सेवन गर्ने तरिका सिकाइने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस