२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

धिताेमा छ

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • कविता: अम्विका न्याैपाने 

    मेरो जीवन भरको कमाइ,

    सातधुर घडेरी धितोमा छ,

    घडेरी धितो राखेर,

    खोलेको खाजा पसल धितोमा छ ,

    यही खाजा पसलको आर्जनले,

    छोरा र छोरी पढाउने ,

    मेरा सबै सपना धितोमा छ,

    मेरो आमा र बुवाको,

    बुढेसकालको सहारा बन्ने,

    मेरा सबै चाहना धितोमा छ ,

    मेरी पियारीलाई एउटा सारी ,

    उपहार दिने मेरा सबै,

    रहरहरू धितोमा छ ,

    खाजा पसल खोलेको पन्ध्रदिन नबित्दै ,

    सुरू भएको लकडाउन र कोरोनाको कहरले ,

    मेरा सबै सपना र चाहनाहरू धितोमा छ ,

    यो लकडाउनको अवधिमा निर्जिव बनेका ,

    मेरा सपनाहरू ,

    त्यसै त्यसै टोलाउन लागेको छ,

    बाटामा हिँडेका केही फाट्ट फुट्ट,

    मानिसहरूमा मेरा सपनाहरू

    खोज्न थालेको छु,

    मनमनै भन्छु हेरन यता म धितोमा छु ,

    एक कप चिया पिइदेऊन म धितोमा छु ,

    बैंकको ऋण तिर्नु छ ,

    गाँसबास धान्नु छ ,

    मेरो जीवनभरको कमाइ,

    मेरो घडेरी धितोमा छ ,

    हेर्दैनन् फर्केर कसैले,

    पिउँदैनन् एक कप चिया,

    मेरा सबै सपना मझेरी परेको छ,

    ब्याज तिर्न प्रियाको मुन्द्री,

    कानबाट झरेको छ ,

    म हेर्दै छु ,

    मन्दिरको धर्मशाला ,

    किनकी बसाइँ सर्नु पर्ने छ ,

    मेरो जीवनभरको कमाइ,

    सातधुर घडेरी धितोमा छ ।

    -सेताेपाटीबाट

    प्रतिक्रिया दिनुहोस